टोकियो – जापानी अर्थतन्त्रको बलियो खम्बा मानिएको पर्यटन क्षेत्र यतिबेला जनशक्तिको गम्भीर संकटबाट गुज्रिरहेको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो वार्षिक ‘पर्यटन श्वेतपत्र’ अनुसार जापानका ७० प्रतिशतभन्दा बढी होटल तथा आवास सुविधाहरूले कामदारको चरम अभाव झेलिरहेका छन् ।
पर्यटकहरूको ओइरो लागिरहेका बेला सेवा प्रदान गर्ने कर्मचारीको कमीले गर्दा यो क्षेत्रमा ‘दुष्चक्र’ सुरु हुन सक्ने चेतावनी रिपोर्टले दिएको छ । कामको अत्यधिक बोझका कारण भइरहेका कर्मचारीहरूले पनि जागिर छाड्ने र त्यसले अभावलाई अझ भयावह बनाउने जोखिम देखिएको छ ।
जापान सरकारले गत डिसेम्बर र जनवरीको बीचमा ५२२ वटा होटल तथा आवास केन्द्रहरूमा एक विशेष सर्वेक्षण गरेको थियो । जसमध्ये ७२.२ प्रतिशतले आफूहरू ‘जनशक्ति अभाव’को चपेटामा परेको स्वीकार गरेका छन् । विशेषगरी पर्यटकीय सिजनमा मौजुदा कर्मचारीहरूमाथि पर्ने अतिरिक्त दबाबलाई होटल सञ्चालकहरूले तत्काल समाधान गर्नुपर्ने मुख्य चुनौतीका रूपमा लिएका छन् ।
जापानमा जनशक्ति अभावको समस्या केवल पर्यटनमा मात्र सीमित छैन । द्रुत रूपमा बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदर यसको मूल कारण हो । यद्यपि, उत्पादनमूलक क्षेत्रको तुलनामा सेवा क्षेत्रमा पारिश्रमिक कम हुनुले पनि मानिसहरू होटलको कामतर्फ आकर्षित नभएको पाइएको छ । कडा आप्रवासन नीतिका लागि चिनिने जापानले पछिल्लो समय विदेशी कामदारका लागि ढोका बिस्तारै खुल्ला गरे पनि त्यो आवश्यकताको तुलनामा निकै कम छ ।
श्वेतपत्रमार्फत सरकारले होटल सञ्चालकहरूलाई प्रविधिमा लगानी बढाउन कडा सुझाव दिएको छ । ‘अटोमेटेड चेक-इन’ प्रणाली, खाना पस्कने रोबोट र अन्य अत्याधुनिक प्रविधिको प्रयोगले जनशक्तिको भार कम गर्न सकिने सरकारको ठहर छ । शुक्रबार मन्त्रिपरिषद्बाट स्वीकृत उक्त प्रतिवेदनमा भनिएको छ, ‘सेवाको गुणस्तर सुधार्दा ग्राहकको सन्तुष्टि बढ्छ र यसले आम्दानीमा वृद्धि गर्छ । बढेको आम्दानीबाट कर्मचारीको तलब वृद्धि गर्न सके मात्र दक्ष जनशक्तिलाई यो क्षेत्रमा टिकाउन सम्भव हुनेछ ।’
डलरको तुलनामा जापानी ‘येन’ कमजोर हुँदा विदेशी पर्यटकका लागि जापान भ्रमण निकै सस्तो र आकर्षक बनेको छ । मध्यपूर्वको द्वन्द्वले केही हदसम्म प्रभाव पारे तापनि सन् २०२५ मा जापान आउने विदेशी पर्यटकको सङ्ख्याले इतिहासमै पहिलोपटक ४ करोडको सीमा नाघेको थियो ।
पर्यटकहरूको खर्चले पनि नयाँ रेकर्ड कायम गरेको छ । जापान सरकारले सन् २०३० सम्ममा वार्षिक ६ करोड विदेशी पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । तर, आवास क्षेत्रमा देखिएको यो कर्मचारी अभावले उक्त लक्ष्य प्राप्तिमा ठूलो चुनौती थपिदिएको छ ।








