लण्डन – गैर आवासीय नेपाली संघ बेलायतले गत सेप्टेम्बर १६ तारिखका दिन बेलायतमा दिवंगत भएका विद्यार्थी रमेश लामाको शवलाई नेपाल पठाउनका लागि दुइ हजार तीन सय पचास पाउण्डको चेक आज लण्डनको एल्थमस्थित इण्डिपेण्डेण्ट फ्यामीली फ्युनरल सर्भिसेजलाई हस्तान्तरण गरेको छ ।
एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले उपाध्यक्ष कृष्ण तिमिल्सिना, महासचिव योगकुमार फगामी, सचिव संगीता मरहट्टा, कोषाध्यक्ष डासु पाण्डे, सदस्य फणिन्द्र भट्टराई र तस्वीर लामा तथा निवर्तमान अध्यक्ष कुल आचार्य समेतको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरेका हुन् । सो रकम एनआरएन युके आफैं तथा एनआरएन युकेको पहलमा बेलायतस्थित विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरुबाट जम्मा भएको, रकम संकलन कार्यका संयोजक तथा एनआरएन युकेका उपाध्यक्ष कृष्ण तिमिल्सिनाले बताएका छन् । यस कार्यका लागि कसले के कति सहयोग गरेका छन् भन्ने कुराको विस्तृत विवरण स्पष्ट हुन केही दिन लाग्ने पनि उपाध्यक्ष्य तिमिल्सिनाले बताएका छन् । रकम सहयोगदाता तथा संघ संस्थाहरुको नाम तथा रकमको पूर्ण विवरण यथाशिघ्र संचार माध्यम तथा एनआरएन युकेको वेबसाइटमा प्रकाशित गरिनेछ ।
सोही स्थलमा एनआरएन युके अध्यक्ष योगेन क्षेत्री तथा अन्य पदाधिकारीहरुले मृतक लामाको शवमा पुष्पगुच्छा चढाई अन्तिम श्रद्घान्जली अर्पण गरेका थिए । लामाको अन्तिम दर्शनका लागि उनकी श्रीमती कविता श्रेष्ठ तथा साथीहरु पनि त्यहां उपस्थित थिए । लामाको शवलाई सेप्टेम्बर २६ का दिन जेट एअरवेजको उडानबाट काठमाण्डौ लगिएको छ। शव आज शुक्रबार अपरान्ह तीन बजे काठमाण्डौं पुगेको छ ।
यसैबीच एनआरएन युकको अध्यक्ष योगेन क्षेत्रीले मृतक लामाको शव काठमाण्डौं पठाउनका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुमाथि हार्दिक आभार प्रकट गरेका छन् । उनले आपत विपतमा नेपालीहरुले देखाएको ऐक्येबद्धताको सह्राना समेत गरेका छन् ।









