Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

टोकियो – नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापानको राजधानी टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स-२०२६’ नौबुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको समन्वय तथा महासंघको जापान शाखाको आयोजनामा सम्पन्न उक्त सम्मेलनले नेपालमा प्रेस स्वतन्त्रताको रक्षा र प्रवासमा रहेका नेपाली पत्रकारहरूको अधिकार सुनिश्चितताका लागि जोडदार माग गरेको छ ।

सम्मेलनद्वारा जारी घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । सञ्चार सम्बन्धी कानुन निर्माण वा परिमार्जन गर्दा सरोकारवाला पक्षहरूसँग व्यापक परामर्श गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिकको प्रत्याभूति, सामाजिक सुरक्षा, बिमा तथा श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार गृहहरूलाई आग्रह गरिएको छ । प्रविधिको तीव्र विकाससँगै मिडिया क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता घोषणापत्रमा औँल्याइएको छ ।

प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा क्रियाशील पत्रकारहरूलाई सम्मान गर्दै सम्मेलनले महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यहरूलाई ‘चुन्ने र चुनिन पाउने’ (मताधिकार) सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, विश्वभर रहेका वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक ढाँचामा पुनर्संरचना गरी ‘वैदेशिक प्रदेश’ वा ‘महादेशीय संरचना’ निर्माण गर्न सम्मेलनले माग गरेको छ । वैदेशिक शाखाका सदस्यहरूलाई महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउनुपर्ने विषयलाई पनि घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ ।

विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानलाई कदर गर्न महासंघका सम्पूर्ण वैदेशिक शाखाहरूको संयुक्त पहलमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने महत्वपूर्ण निर्णय सम्मेलनले गरेको छ । साथै, प्रवासी पत्रकारहरूले आर्जन गरेको आधुनिक प्रविधि, सीप र अनुभवलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न ‘ज्ञान हस्तान्तरण’को संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकारबाहेक संविधानले दिएका अन्य सबै अधिकार सहज रूपमा उपभोग गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरिएको छ । महासंघको वैदेशिक शाखा नभएका मुलुकमा रहेका पत्रकारहरूका लागि डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्ने प्रणाली विकास गर्न समेत सम्मेलनले आग्रह गरेको छ ।

डायस्पोराको आवाज: सेतु र ऐनाको रूपमा मिडिया
संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तिलक मल्लले ‘ब्रिजिङ नेपाल एण्ड द वर्ल्ड थ्रो मिडिया: द भ्वाइस अफ डायस्पोरा’ (सञ्चारमार्फत नेपाल र विश्वलाई जोड्दै: डायस्पोराको आवाज) विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रवासको पत्रकारिता र घरदेशको सम्बन्धबारे महत्वपूर्ण तथ्यहरू उजागर गर्नुभयो । मल्लले वि.सं. १९४३ मा बनारसबाट सुरु भएको ‘गोरखा भारत जीवन’ देखि हाल डिजिटल माध्यममा फैलिएको डायस्पोरिक मिडियाको इतिहास स्मरण गराउनुभयो ।

मल्लले आफ्नो कार्यपत्रमा भन्नुभयो, ‘पत्रकारिता गर्नकै लागि कोही पनि नेपाली विदेशिएको हुँदैन, तर आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम र भाषा-संस्कृति जोगाउने हुटहुटीले प्रवासमा कर्म गरिरहेका नेपालीहरूलाई पत्रकारितामा जोडिन बाध्य बनाउँछ ।’ उहाँले प्रवासका मिडियालाई नेपाली समुदायको ‘ऐना र सेतु’ को संज्ञा दिँदै प्रवासमा हुर्कँदै गरेको दोस्रो पुस्तालाई नेपालको जरासँग जोड्न मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

मल्लको कार्यपत्रमा समेटिएका मुख्य बुँदाहरू:

  • संकटको सारथि: सन् २०११ को जापानको महाभूकम्प, २०१५ को नेपालको विनाशकारी भूकम्प र कोरोना महामारीका बेला डायस्पोरिक मिडियाले सूचना प्रवाह र राहत संकलनमा खेलेको भूमिका अविस्मरणीय रहेको ।
  • प्रमुख चुनौती: आर्थिक दिगोपनाको अभाव, दक्ष जनशक्तिको कमी र पछिल्लो समय ‘भ्युज’ र ‘भाइरल’ हुने होडबाजीका कारण पत्रकारिताको विश्वसनीयतामाथि परिरहेको संकट ।
  • मताधिकार र प्रतिनिधित्व: महासंघका वैदेशिक शाखाका सदस्यहरूले महासंघको निर्वाचनमा मताधिकार नपाउनु र केन्द्रीय समितिमा उचित प्रतिनिधित्व नहुनुलाई उहाँले प्रमुख नीतिगत कमजोरीको रूपमा औँल्याउनुभयो ।

मल्लको कार्यपत्रमाथि रमेश खतिवडा, रमेश पौडेल, सुरज भण्डारी र कैलाश बमजमले टिप्पणी गर्नुभएको थियो भने गोकर्ण अधिकारीले समीक्षात्मक टिप्पणी राख्दै प्रवासको पत्रकारितालाई व्यावसायिक बनाउन प्रशिक्षणको खाँचो रहेको बताउनुभयो ।

सम्मेलनमा लगानी र प्रविधिका विषयमा पनि छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएका थिए । पूर्व केन्द्रीय सदस्य भूषण घिमिरेले ‘मुलुकमा लगानी भित्र्याउन डायस्पोरिक मिडियाको भूमिका’ र केन्द्रीय लेखा समिति संयोजक कृष्णचन्द्र लामिछानेले ‘पत्रकारितामा प्रविधिको प्रभाव र जिम्मेवार पत्रकारिता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा सोनी शर्मा, भरत खड्का, नरेन्द्र बस्नेत र सबिता शर्मा लगायतले प्रविधिको दुरुपयोग रोक्दै सत्यतथ्य सूचनामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए आइसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन लगायतको विशेष उपस्थिति थियो । महासंघका जापान शाखा अध्यक्ष रवीन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन लामिछानेले गर्नुभएको थियो ।

सम्मेलनमा महासंघका केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेश तथा एसोसिएट शाखाका प्रतिनिधि, तीन जिल्लाका अध्यक्ष र विभिन्न देशका वैदेशिक शाखाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । घोषणापत्र निर्माण समितिका संयोजक खगराज गौतमले नौबुँदे घोषणापत्र वाचन गर्नुभएको थियो ।

सम्मेलन सफल पार्न सहयोग पुर्‍याउने जापानस्थित नेपाली दूतावास, एनआरएनए जापान, विभिन्न सामाजिक संघसंस्था, सञ्चारकर्मी र स्वयंसेवकहरूलाई आयोजकले आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया