समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतन्त्र अहिले अपहरणको अवस्थामा पुगेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले अहिले लोकतन्त्रलाई थप बलियो बनाउनेभन्दा पनि पुनः स्थापित गर्नुपर्ने अवस्था आएको दाबी गरे। उनले निर्वाचन मात्रै लोकतन्त्रको मापन हुन नसक्ने उल्लेख गर्दै चुनाव कुन उद्देश्य र कस्तो वातावरणमा सम्पन्न भयो भन्ने कुरा अझ महत्त्वपूर्ण हुने बताए।
ओलीले विश्वका धेरै देशमा निर्वाचन भए पनि लोकतान्त्रिक अभ्यास नभएको उदाहरण दिँदै नेपालमा पनि पछिल्लो समय लोकतान्त्रिक मूल्य र मान्यतामाथि चुनौती थपिएको टिप्पणी गरे। उनले भदौ २३ र २४ गते भएका जनधनको क्षति, हिंसा र त्रास फैलाउने घटनालाई नेपालको इतिहासमै दुर्लभ र दुःखद भन्दै राणाशासन, पञ्चायत र २०६२/०६३ को आन्दोलनका क्रममा समेत यस्ता घटना नदेखिएको दाबी गरे।








