समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई ५७औँ पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेको अवसरमा बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पुर्जाको उपलब्धिलाई विश्व पर्वतारोहण इतिहासकै असाधारण सफलता भएको उल्लेख गरेका छन्। सांसद शेर्पाका अनुसार पुर्जाले हालसम्म ८ हजार मिटरभन्दा अग्ला हिमाल ५७ पटक आरोहण गरिसकेका छन्, जसमध्ये २९ वटा आरोहण अतिरिक्त अक्सिजनको प्रयोगबिना सम्पन्न भएका छन्।
सांसद शेर्पाले यो उपलब्धिले पर्वतारोहण क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको भन्दै पुर्जाको प्रशंसा गरेका छन्। निर्मल पुर्जाले अब चो ओयु हिमाल आरोहण गरेपछि आफ्नो महत्वाकांक्षी ‘ह्याट्रिक प्रोजेक्ट’ पूरा गर्नेछन्। उक्त परियोजनाअन्तर्गत विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल र सातै महादेशका सर्वोच्च शिखर (सेभेन समिट्स) तीन–तीन पटक आरोहण गर्ने लक्ष्य रहेको छ।
शेर्पाले पुर्जालाई ऐतिहासिक यात्राको अन्तिम चरण सफलतापूर्वक पूरा गर्न शुभकामना दिँदै सुरक्षित आरोहण र निरन्तर सफलताको कामना गरेका छन्।








