Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिँदै गर्दा हरेक युवाको आँखामा एउटा ‘स्वप्निल’ जापानको तस्बिर हुन्छ- ‘चिल्ला सडक, गगनचुम्बी भवन, अत्याधुनिक प्रविधि र हातभरि आउने जापानी येनको बिटो ।’ यी र यस्तै रंगिन सपनाका पोकाहरू बोकेर हरेक वर्ष हजारौँ नेपाली युवा सूर्योदयको देशतिर उड्छन् ।

तर, जहाजले जापानको भूमि टेक्नेबित्तिकै सुरु हुन्छ एउटा यस्तो अध्याय, जसको बारेमा न कन्सल्टेन्सीका भित्तामा टाँसिएका पोस्टरहरूले बोल्छन्, न त सामाजिक सञ्जालका फिल्टर्ड भिडियोहरूले नै बताउँछन् । हामीले नेपालबाट देखेको जापान र यहाँ बाँच्नुपर्ने जापानको बीचमा एउटा ठूलो सांस्कृतिक र मनोवैज्ञानिक खाडल छ । नेपालमा रहँदा कन्सल्टेन्सी, सञ्जालमा आएका भिडियो अझ भनौं ब्लगरहरूको बोलीले लोभ्याउँछ । उनीहरुले जापानलाई एउटा यस्तो स्वर्गको रूपमा चित्रण गर्छन्, जहाँ पुग्नेबित्तिकै आर्थिक हैसियत रातारात बदलिन्छ ।

यो सपनाको बजारीकरण यति शक्तिशाली छ कि हामीले यहाँको संघर्ष, एक्लोपन र कठोर परिश्रमलाई कहिल्यै देख्नै सकेनौँ । हामीले सोचेको जापान केवल उपभोगको केन्द्र थियो, तर भोगिरहेको जापान उत्पादन र अनुशासनको एउटा कठिन चक्रव्यूह हो । यहाँ प्रविधिले जीवन सजिलो त बनाएको छ, तर त्यही प्रविधिको गतिसँग तालमेल मिलाउन मानिस स्वयं रोबोटजस्तै बन्नुपर्ने बाध्यता छ ।

जापानको सबैभन्दा ठूलो चुनौती आर्थिक मात्र होइन, मनोवैज्ञानिक पनि हो । नेपालको गाउँघरमा हुने चियापसलका गफ, छिमेकीको आँगनमा हुने आउजाउ र चाडपर्वको उल्लासमा हुर्किएको हाम्रो मनोविज्ञानलाई जापानको नितान्त व्यक्तिगत जीवनशैलीले ठूलो धक्का दिन्छ । यहाँ छिमेकी त हुन्छन्, तर ती केवल भित्ताका अर्कोतिरका अदृश्य पात्र मात्र हुन् । यो सामाजिक रिक्तता र एकाकीपन नै जापान पुगेका नेपालीहरूले भोग्ने सबैभन्दा ठूलो मानसिक संकट हो । सहरका झिलिमिली बत्तीहरूभित्र कतिपय नेपाली मनहरू निद्रा नपुगेको आँखा र थाकेको शरीर बोकेर घर सम्झँदै टोलाइरहेको हुन्छन्, जुन दृश्य सामाजिक सञ्जालको चेक-इन र सेल्फीमा कहिल्यै अटाउँदैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट सुरु हुने ‘चिल्ला सडक र येनको बिटो’ को त्यो सपना, नारिता विमानस्थल ओर्लिएपछि एउटा कठोर यथार्थमा बदलिन्छ । कन्सल्टेन्सीका भित्ता र टिकटकका रङ्गीन फिल्टरले कहिल्यै नदेखाएको जापान- जहाँ मानिस मेसिनजस्तै दौडिनुपर्छ र आफ्नै भावनाहरूलाई ‘ओचुकारेसामा’ भन्नुपर्छ । नेपालको गाउँघरको आत्मीयता र छिमेकीको आँगन छाडेर टोकियोका अदृश्य भित्ताहरूबीच एक्लोपनसँग जुधिरहेका हजारौँ नेपाली मनहरूको वास्तविक ऐना । यो केवल वैदेशिक रोजगारीको कथा होइन, यो त एउटा देशले खोसेको अपनत्व र अर्को देशले दिएको अवसर बीचको कठिन सन्तुलन हो ।

जापानमा भाषाको सवाल अर्को पेचिलो विषय हो । एन-फोर वा एन-फाइभ पास गर्दैमा जापान बुझिन्छ भन्ने सोच्नु अधुरो ज्ञान हो । यहाँ पुगेपछि मात्र थाहा हुन्छ- भाषा केवल सञ्चारको माध्यम मात्र होइन, यो त यहाँको समाजमा सम्मानजनक अस्तित्व कायम गर्ने साँचो रहेछ । भाषाको पर्याप्त ज्ञान नहुँदा एक शिक्षित र क्षमतावान् युवा पनि सस्तो श्रमिकको दर्जामा खुम्चन बाध्य हुन्छ । सुपरमार्केटमा सामान किन्दा होस् वा काम गर्ने ठाउँमा ‘बुचो/श्याचो’को निर्देशन बुझ्दा, भाषा नआउँदा हुने निरीहता र हीनताबोधले मानिसलाई भित्रभित्रै कमजोर बनाउँछ । जबसम्म तपाईं जापानी भाषा र संस्कृतिमा पोख्त हुनुहुन्न, तबसम्म तपाईंको योग्यताको यहाँ कुनै मूल्य हुँदैन ।

आर्थिक पाटोलाई केलाउने हो भने, जापानी येनलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेर लाखौँको सपना देख्नु एउटा भ्रम मात्र साबित हुन्छ । जापानमा जीवन केवल कमाइको नाम होइन, यो खर्च र करको बोझिलो हिसाब पनि हो । कोठाभाडा, स्वास्थ्य बीमा, पेन्सन, बिजुली र खाद्यान्नमा हुने खर्च कटाएपछि जोगिने रकम हेर्दा थाहा हुन्छ– यहाँ पैसा कमाउनु भनेको समुद्रबाट थोपा-थोपा पानी जम्मा गर्नुजस्तै हो, भनेर । अझ नेपालबाट आउँदा लागेको ऋण र विद्यार्थी भिसामा आएकाहरुले वर्षैपिच्छे बुझाउनुपर्ने कलेज शुल्कको दबाबले सधैँ शून्यको बिन्दुमा उभ्याइदिन्छ । धेरैको जीवन त केवल ऋण तिर्ने र अर्को किस्ता जुटाउने गोलचक्करमै घुमिरहन्छ ।

अर्काेतर्फ जापानीहरूको समयप्रतिको निष्ठा विश्वमै उदाहरणीय र कडा छ । नेपालको भोलिवाद र सरकारी ढिलासुस्तीमा हुर्किएका हामीलाई यहाँको एक मिनेटको महत्वले सुरुमा निकै सास्ती दिन्छ । काममा एक मिनेट ढिलो हुनु भनेको केवल समय बर्बाद गर्नु मात्र होइन, आफ्नो र आफ्नो देशकै विश्वसनीयता गुमाउनु हो । गाम्बात्ते र ओचुकारेसामाजस्ता शब्दहरूले जापानी कार्यसंस्कृतिको मेरुदण्ड थामेका छन् । यहाँको प्रणालीले मानिसलाई यति अनुशासित र व्यस्त बनाउँछ कि उसले आफ्नै भावना र पीडाका बारेमा सोच्ने समयसमेत पाउँदैन ।

र, नेपालबाट देखेका सुनौलो सपनामा यहाँ आएपछि कहिलेकाहीँ कालो आँधी चल्छ । भविष्यको चिन्ताले साहस बढाउनतिर होइन, निराशाको भारी थोपर्ने तिर लाग्छ । त्यो भारी धेरै गाह्रो भएको महसुस गराउँछ । त्यति बेला हामीले सोच्नै पर्छ कि जीवन एक परीक्षा हो, हामी परीक्षार्थी हौँ जसले देशभन्दा बाहिर आएर पनि उज्यालो खोजिरहेका छौँ । यो संघर्ष हाम्रो कमजोरी होइन, हाम्रो साहसको प्रमाण हो । जसबाट जीवन जिउने कला अनि सफलता र असफलताको पनि पाठ सिक्छौँ ।

जापानले हामीलाई प्रविधि दियो, अनुशासन सिकायो र आत्मनिर्भर बनायो, तर बदलामा हाम्रो मौलिकता र सामाजिक सामीप्यता खोसिदियो । झिलिमिली बत्तीको मुनि लुकेको थाकेको शरीर र निद्रा नपुगेका आँखाहरूको कथा, जुन न त कुनै भिडियो ब्लगले भन्छ, न त कन्सल्टेन्सीका विज्ञापनले । विद्यार्थी भिसादेखि वर्किङ भिसाको गोलचक्करसम्म आइपुग्दा, एउटा युवाले आफूलाई कतिपटक हराउँछ र कतिपटक पाउँछ ? सपना पछ्याउँदै सूर्योदयको देश पुगेकाहरूका लागि एउटा यथार्थपरक सन्देश- जापान उज्यालो त छ, तर त्यो उज्यालोमा आफ्नो छाया खोज्न निकै कठिन छ ।

धेरैलाई लाग्छ, विद्यार्थी भिसा सकिएर वर्किङ भिसा पाएपछि सबै दुख सकिन्छन् । तर वास्तविकता त्यस्तो छैन । वर्किङ भिसाले केही कानुनी सहजता त ल्याउला, तर जिम्मेवारी र खर्चको दायरा पनि उत्तिकै बढाउँछ । नयाँ कम्पनी, नयाँ ठाउँ, कोठा सार्दा लाग्ने लाखौँ येनको खर्च र बढ्दो करले गर्दा बचतको अनुपात उस्तै रहन्छ । जीवन एउटा यस्तो गोलचक्कर बन्छ, जहाँ जति अगाडि बढे पनि फेरि उही आर्थिक र मानसिक संघर्र्षको बिन्दुमा आइपुगेको महसुस हुन्छ ।

आज सामाजिक सञ्जालमा विदेशको चमक धेरै देखिन्छ । तर, चमकभन्दा बाहिरको कथा कम देखिन्छ । अझ एक्लोपनले सताइरहेको विदेशी भूमिमा जब कोही आफ्नै मातृभाषा बोल्ने मान्छे भेटिन्छ, तब लाग्छ- मानौँ उखरमाउलो खडेरीमा शितल चौतारी भेटियो वा भीषण वर्षामा ओत लाग्ने एउटा सुरक्षित छानो पाइयो । तर, जापानको व्यस्त गल्लीहरूमा अचेल यो ‘ओत’ ओत जस्तो छैन । अर्थात नेपालीले नेपालीलाई चिन्ने समय हुँदैन । अझ नेपालीको बसाईलाई कष्टकर बनाउने खेलमा नेपालीहरु नै अग्रपंक्तिमा रहेको गुनासाहरु बढेका छन्, चनाखो रहनुहोला ।

विद्यार्थी भिसामा आएकाहरूका लागि काममा लगाइदिने, डिपेण्डेण्टमा आएकाका लागि काममा लगाइदिने बहानामा नेपालीले नै ठगीको धन्दा गर्ने प्रवृत्ति हाबी हुँदै गइरहेको छ । साथै अन्य भिसामा ल्याउने र आउनेहरू झन् बढी समस्यामा परेको महसुस गरेको छु । यसको न्यूनीकरणका लागि नेपालीकै सहयोग गर्ने नाममा गठन भएका च्याउसरि संघसंस्थाले कुनै भूमिका निर्वाह नगरेको पाउँदा निकै दुखलाग्छ । यसतर्फ सम्बन्धित सरोकारवालाले समयमा नै ध्यान दिन नसकेमा भयावह स्थितिको सृजना हुने लक्षणहरूका कालो बादल मडारिरहेको छ ।

हुन त आफूले आफ्नो औकात र अवस्थाको राम्रो विश्लेषण नगरी जापानमा रुखमा पैसा टिप्ने जसरी यहाँ आउन लालायित हुनेहरू नै पहिले सजग हुनपर्छ । आफूसँग सिप क्षमता र जापानमा रहेर अध्ययन गर्न सक्ने क्षमताको मूल्यांकन नगरी हाम फाल्नु नै पहिलो समस्या हो ।

येनलाई रुपैयाँमा रूपान्तरण गरेर सपना देख्नुअघि, यहाँको कर, महँगी र रोबोटजस्तै बाँच्नुपर्ने बाध्यतालाई बुझ्न जरुरी छ । सपनाको बजारीकरण र यथार्थको कसीमा कोरिएको जापान पुगेका नेपालीहरूको एउटा नमिठो तर सत्य दस्तावेज ।

यसो भनिरहँदा जापान नराम्रो देश भने पक्कै होइन । यसले हामीलाई आत्मनिर्भरता, समयको महत्व र कामप्रतिको निष्ठा सिकाउँछ । सुन्ने गर्थे नेपालमा नै रहँदा पनि सुरक्षाका दृष्टिले जापान साच्चि कै उकृष्ट मुलुक हो, त्यो कुराको पुष्टि यहाँ पुगैको थोरै दिनको बसाईमै भयो । कसैलेकसैलाई दुव्र्यवहार गर्नु साच्चिकै दण्डनीय मानिन्छ जापानमा ।

यहाँको विकास मात्र होइन, बरु समयको कदर, श्रमप्रतिको उच्च सम्मान, र विश्वकै उत्कृष्ट सुरक्षा व्यवस्थाले गर्दा जापानलाई सपना साकार पार्ने भूमि मानिन्छ । जापानी भाषामा निपुणता र कडा मेहनत गर्ने दृढ संकल्प बोकेर आउने जो-कोहीका लागि जापानले व्यक्तिगत र व्यावसायिक उन्नतिको अपार सम्भावना प्रदान गर्दछ । आफ्नो सीपलाई विश्वस्तरमा तिखार्न र एउटा मर्यादित जीवनको सुरुवात गर्न चाहनेहरूका लागि जापान उपयुक्त र सुरक्षित अवसरको देश हो ।

अतः जापान एउटा यस्तो कर्मभूमि हो, जसले परिश्रम गर्नेलाई प्रतिफल त दिन्छ तर त्यसको बदलामा मानिसको भावना र सामाजिक सामीप्यताको ठूलो हिस्सा असुल गर्छ । नेपालले हामीलाई भावना र सम्बन्ध दियो तर अवसर दिएन, जापानले अवसर र प्रविधि दियो तर हाम्रो मौलिकता र अपनत्व खोसिदियो । यो पाउने र गुमाउनेको सन्तुलन मिलाउन सक्नेका लागि मात्र परदेशको यात्रा सार्थक हुनसक्छ । त्यसैले, चिल्लो कार र गगनचुम्बी भवनको फोटो हेर्नुअघि त्यसको पृष्ठभूमिमा बगेको पसिना र लुकेको एक्लोपनको कथा बुझ्न ढिला नगरौँ ।

तपाईको प्रतिक्रिया