
टोकियो-कृत्रिम बुद्धिमत्ताका अग्रणी विज्ञ यान लेकुनका अनुसार अहिलेका एआई प्रणालीहरू प्रभावशाली भए पनि वास्तविक संसार बुझ्ने क्षमतामा अझै निकै कमजोर छन् ।
“भौतिक संसारलाई मुसाले जति बुझ्ने क्षमतासमेत भएका रोबोट हामीसँग छैनन्,” उनी भन्छन् । मेटामा करिब एक दशक प्रमुख एआई वैज्ञानिकका रूपमा काम गरेका लेकुनले सन् २०२५ मा कम्पनी छाडेर एड्भान्स्ड मेसिन इन्टेलिजेन्स ल्याब्स (एएमआई ल्याब्स) स्थापना गरेका थिए।
उनको लक्ष्य च्याटजीपीटी, क्लाउड र जेमिनीजस्ता हालका एआई प्रणालीभन्दा फरक प्रविधि विकास गर्नु रहेको छ । उनका अनुसार यस्ता लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) कोड लेख्न, गणितीय समस्या समाधान गर्न र लेख लेख्न सक्षम भए पनि वास्तविक संसारका जटिल परिस्थिति बुझ्न पर्याप्त छैनन् ।
उनले भने “यी प्रणालीले मुख्यतः सूचनाहरु संकलन गर्छन् र त्यसबाट सिकेका कुरालाई पुनः परिणामको रुपमा उपलब्ध गराउछन् तर तिनमा गहिरो बुझाइ हुँदैन ।”
उनको कम्पनीले ‘जोइन्ट एम्बेडिङ प्रेडिक्टिभ आर्किटेक्चर’ अर्थात् जेपा नामक नयाँ एआई प्रणाली विकास गरिरहेको छ । यसको उद्देश्य वास्तविक संसारको अमूर्त संरचना तयार गरेर कुनै कार्यका सम्भावित परिणाम बुझ्नु रहेको छ ।
लेकुन एउटा कलम ठाडो राखेर उदाहरण दिन्छन् । कलम छाडेपछि त्यो ढल्छ भन्ने कुरा सानो बालकले समेत बुझ्छ । तर कुन दिशातर्फ ढल्छ भन्ने अनुमान गर्नु अर्थहीन हुन्छ । एलएलएमले भने प्रशिक्षणका तथ्यांकका आधारमा एउटा सम्भावित दिशा अनुमान गर्न सक्छ जुन गलत हुन सक्छ ।
लेकुनका अनुसार जेपा प्रणालीले कुन कुरा अनुमान गर्न उपयोगी छ र कुन कुरा महत्त्वहीन छ भन्ने छुट्याउन सक्षम हुने लक्ष्य राखेको बताएका छन् । “एलएलएम रोबोटिक्सका लागि लगभग अनुपयोगी छन्,” लेकुन भन्छन्, “एलएलएमलाई ठूलो बनाउँदै लगे मात्र अतिमानवीय बुद्धिमत्ता हासिल हुन्छ भन्ने दाबी सही होइन ।”
अक्सफोर्ड विश्वविद्यालयका एप्लाइड एआई प्राध्यापक इङमार पोजनर पनि यही धारणा राख्छन् । उनका अनुसार आगामी दशकमा एआई विकासको केन्द्रमा कारण–परिणाम बुझ्ने र वैकल्पिक अवस्थाको कल्पना गर्न सक्ने प्रणाली रहनेछन् ।
उनले भने, “अबका मोडलले के महत्त्वपूर्ण छ, के कारणले के हुन्छ र अर्को निर्णय लिएको भए के परिणाम आउँथ्यो भन्ने प्रश्नको उत्तर दिन सक्नुपर्छ ।”
पोजनरको टोली ‘वर्ल्ड मोडल’ भनिने अवधारणामा आधारित नयाँ एआई प्रणाली विकास गरिरहेको छ । यस्तो प्रणालीले वास्तविक संसारको मानसिक नमुना बनाएर त्यसबाट सिक्ने र निर्णय गर्ने प्रयास गर्छ । गुगलको डिपमाइन्डले ‘जिनी’, वेभले ‘गाया’ र एआई अनुसन्धानकर्ता फेइ–फेइ लीले स्थापना गरेको वर्ल्ड ल्याब्सले पनि यस्तै प्रकृतिका प्रणाली विकास गरिरहेका छन् ।
लेकुनका अनुसार एएमआई ल्याब्सले यस वर्षभरि आफ्नो मोडल सुधार गर्ने र आगामी वर्षदेखि औद्योगिक क्षेत्रमा प्रयोग सुरु गर्ने लक्ष्य राखेको छ । दीर्घकालमा थोरै प्रशिक्षणमै धेरै प्रकारका काम गर्न सक्ने सामान्य बुद्धिमत्ता प्रणाली विकास हुने उनको अपेक्षा छ । यस्तो अवस्थामा मानवको भूमिका समाप्त नहुने उनी बताउँछन् ।
“के प्रश्न सोध्ने, के बनाउने र के सिर्जना गर्ने भन्ने निर्णय अझै मानिसले नै गर्नुपर्नेछ,” लेकुन भन्छन् । उनका अनुसार भविष्यको एआई मानिसको प्रतिस्पर्धीभन्दा बढी सहयोगीका रूपमा रहनेछ । “भविष्यका एआई प्रणाली हामीभन्दा स्मार्ट भए पनि हाम्रो सम्बन्ध त्यस्तै हुन सक्छ, जस्तो कुनै उद्योगपति वा राजनीतिक नेताको आफ्ना अत्यन्त सक्षम सहयोगीसँग हुन्छ ।”








