Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

टोकियो – ताइवान मुद्दालाई लिएर जापान र चीनबीचको कूटनीतिक तिक्तता बढ्दै जाँदा बेइजिङले जापानतर्फ हुने महत्वपूर्ण खनिजहरूको निर्यातमा अघोषित नाकाबन्दी सुरु गरेको छ । हालै सार्वजनिक चिनियाँ व्यापारिक तथ्याङ्कअनुसार, चीनले रक्षा र उच्च प्रविधि उद्योगका लागि अपरिहार्य मानिने ‘रेयर अर्थ’ (दुर्लभ खनिज) र दुर्लभ धातुहरूको आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको हो ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवान संकटका बेला जापानले अमेरिकाको समर्थनमा सैन्य परिचालन गर्न सक्ने सङ्केत दिएपछि चीन रुष्ट बनेको थियो । त्यसैको बदलास्वरूप चीनले जनवरी ६ देखि जापानतर्फ हुने ‘दोहोरो प्रयोग’ वस्तुहरूको निर्यातमा कडाइ गरेको हो ।

चीनले कम्तीमा १६ प्रकारका महत्वपूर्ण खनिजहरूको निर्यातमा नियन्त्रण लगाएको छ।

  • स्थायी चुम्बक : उच्च क्षमताका चुम्बक बनाउन प्रयोग हुने ‘डिस्प्रोसियम’ र ‘टर्बियम’को निर्यात जनवरीदेखि नै पूर्ण रूपमा बन्द छ । मे महिनामा मात्रै जापानतर्फ हुने ‘रेयर अर्थ’ चुम्बकको निर्यात अघिल्लो महिनाको तुलनामा ३५ प्रतिशतले घटेको छ ।
  • मिसाइल र रक्षा उपकरण: मिसाइलका पार्टपुर्जा बनाउन चाहिने ‘मोलिब्डेनम’ पाउडरको निर्यात जनवरीदेखि ठप्प छ । त्यस्तै, गोली र गाडीका पाटपुर्जामा प्रयोग हुने ‘एन्टिमोनियल लिड’को ढुवानी पनि रोकिएको छ ।
  • अन्तरिक्ष र हवाई उद्योग: हवाई क्षेत्रमा प्रयोग हुने ‘यिट्रियम’ र ‘स्क्यान्डियम’ जस्ता धातुहरूको ढुवानी पनि रोकिएको पाइएको छ ।
  • अर्धचालक: फेब्रुअरीदेखि ‘टङ्गस्टेन’ र ‘ग्यालियम’ जस्ता महत्वपूर्ण धातुहरूको निर्यातमा पनि चीनले अवरोध पुर्‍याएको छ ।

आपूर्ति सञ्जालमा आएको यो अवरोधले जापानी कम्पनीहरूलाई वैकल्पिक स्रोत खोज्न बाध्य पारेको छ । तर, परिस्थितिलाई अझ तनावपूर्ण बनाउँदै चिनियाँ अधिकारीहरूले गत मे महिनामा ‘फुजी इलेक्ट्रिक’ समूहका दुई जापानी कर्मचारीलाई दुर्लभ खनिजसँग सम्बन्धित सामग्री चीन बाहिर लैजान खोजेको आरोपमा नियन्त्रणमा लिएका छन् ।

यसैगरी, जुन महिनाको अन्त्यमा चीनले मित्सुबिसी इलेक्ट्रिकका सहायक कम्पनीहरू र जापानको नेशनल इन्स्टिच्युट फर डिफेन्स स्टडिजसहित थप २० वटा संस्थाहरूलाई आफ्नो प्रतिबन्धित सूचीमा थपेको छ । योसँगै चीनबाट सामान पाउन रोक लगाइएका जापानी संस्थाहरूको सङ्ख्या ४० पुगेको छ ।

प्रधानमन्त्री ताकाइचीको राष्ट्रवादी छवि र ताइवानप्रतिको जापानी सक्रियताले गर्दा टोकियो र बेइजिङबीचको सम्बन्ध विगत धेरै वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । विश्वको ‘रेयर अर्थ’ बजारमा एकाधिकार जमाएको चीनले यसलाई जापानविरुद्ध ‘आर्थिक हतियार’का रूपमा प्रयोग गरेको विज्ञहरूको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया