टोकियो – जापानको महत्त्वाकाङ्क्षी अन्तरिक्ष यान ‘हायबुसा-२’ले क्षुद्रग्रह ‘तोरीफुने’को अत्यन्त नजिकबाट सफल उडान गरेको छ । जापानको अन्तरिक्ष एजेन्सी ‘जाक्सा’ले सोमबार यस अभियानको सफलता पुष्टि गर्दै यानले खिचेको तोरीफुनेको पहिलो तस्बिर समेत सार्वजनिक गरेको छ ।
अत्यन्त सटिक मार्गनिर्देशन आवश्यक पर्ने यो जटिल मिसन आइतबार साँझ करिब ६:३० बजे सम्पन्न भएको थियो । जाक्साका अनुसार यानमा जडान गरिएको ‘अप्टिकल क्यामरा’ सहित चारवटा अत्याधुनिक उपकरणहरू प्रयोग गरेर क्षुद्रग्रहसम्बन्धी महत्वपूर्ण तथ्याङ्कहरू सङ्कलन गरिएको छ ।
अभियान टोलीका प्रमुख युया मिमासुले पत्रकार सम्मेलनमा भावुक हुँदै भने, ‘हायबुसा-२ ले यति सुन्दर र स्पष्ट तस्बिर खिच्न सफल भएको देख्दा म अत्यन्तै प्रभावित भएको छु । यो सफलताले मेरो शरीरमा काँडा उम्रिएका छन् ।’
प्रारम्भिक योजनाअनुसार यानलाई तोरीफुनेको केन्द्रबाट करिब ८०० मिटरको दूरीमा रहेर उडाउनुपर्ने थियो । यान वास्तविक रूपमा कति नजिक पुग्यो भन्ने कुराको विस्तृत विश्लेषण हुन अझै बाँकी छ ।
पृथ्वीबाट करिब १० करोड किलोमिटर टाढा रहेको ‘तोरीफुने’ को आकार बदाम जस्तो देखिएको छ । वैज्ञानिकहरूको प्रारम्भिक अनुमानअनुसार यो दुईवटा फरक-फरक क्षुद्रग्रहहरू आपसमा जोडिएर बनेको हुन सक्छ ।
सन् २०१४ मा प्रक्षेपण गरिएको हायबुसा२ ले अन्तरिक्ष अनुसन्धानमा यसअघि नै ठूला रेकर्डहरू कायम गरिसकेको छ । यसअघि ३० करोड किलोमिटर टाढा रहेको क्षुद्रग्रह ‘र्यूगु’ पुगेर त्यहाँको सतहबाट ५.४ ग्राम नमूना सङ्कलन गरी सन् २०२० मा सफलतापूर्वक पृथ्वीमा पठाएको थियो ।
आफ्नो मुख्य मिसन सकिएपछि बाँकी रहेको इन्धन प्रयोग गरेर हायबुसा-२ ले थप विस्तारित यात्रा सुरु गरेको हो। सन् २०१४ यता यस यानले हालसम्म १०.७ अर्ब किलोमिटरको अभूतपूर्व दूरी पार गरिसकेको छ ।
जाक्साका अनुसार हायबुसा-२ को यात्रा यतिमै रोकिने छैन। यो यान अहिले आफ्नो अर्को गन्तव्यतर्फ मोडिएको छ । यस यानले अब सन् २०३१ सम्ममा अर्को क्षुद्रग्रह ‘१९९८ केवाई २६ पुगेर अनुसन्धान गर्ने लक्ष्य राखिएको छ ।








