टोकियो – जापानको पश्चिमी सहर सिराहमाले आफ्ना प्रिय ‘विशालकाय पाण्डा’लाई बिदा गरेको एक वर्ष पूरा भएको छ । सहरको मुख्य पहिचानका रूपमा रहेका यी पाण्डाहरू चीन फर्किएपछि घटेको पर्यटकको भीडलाई पुनः फर्काउन यतिबेला स्थानीय प्रशासन र व्यवसायीहरू नयाँ रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।
सन् १९९४ मा सुरु भएको संयुक्त प्रजनन अनुसन्धान कार्यक्रमको सम्झौताअनुसार, ‘एडभेन्चर वर्ल्ड’ थिम पार्कमा रहेका चारवटा पोथी पाण्डाहरूराउहिन र उनका सन्तानहरू युइहिन, साइहिन र फुहिन गत जुन २८, २०२५ मा चीन फर्किएका थिए । विगत ३० वर्षको अवधिमा यस केन्द्रले १७ वटा पाण्डाका बच्चा हुर्काउन सफल भएको थियो, जुन चीनबाहिरको सबैभन्दा ठूलो सङ्ख्या हो ।
सिराहमाका पाण्डाहरू फर्किएको केही समयअघि टोकियोको उइनो चिडियाखानाबाट पनि दुईवटा पाण्डा चीन पठाइएको थियो । यससँगै सन् १९७२ यता जापान पहिलोपटक ‘पाण्डा विहीन’ भएको छ । चीनले मित्रताको प्रतीकका रूपमा अन्य देशलाई पाण्डा दिने प्रक्रियालाई ‘पाण्डा कूटनीति’ भनिन्छ । तर, पछिल्लो समय ताइवान मुद्दालाई लिएर जापान र चीनबीच बढेको कूटनीतिक चिसोपनाका कारण तत्कालै पाण्डाहरू जापान फर्कने कुनै सम्भावना देखिएको छैन ।
पाण्डाको अभाव खड्किन नदिन ‘एडभेन्चर वर्ल्ड’ ले विभिन्न सिर्जनशील उपायहरू अपनाउन थालेको छ । पार्कले अहिले पाण्डाहरूको पुरानो बासस्थानको भ्रमण गराउने र उनीहरू चीनमा कसरी बसिरहेका छन् भन्ने भिडियो फुटेजहरू देखाउने कार्यक्रम गरिरहेको छ ।
पार्कका प्रवक्ताका अनुसार, पर्यटकहरूलाई यो बुझाउन खोजिएको छ कि पाण्डाहरू चीनले खोसेर लगेको होइन, बरु उनीहरूको सङ्ख्या वृद्धिका लागि गरिएको अनुसन्धान सम्झौताअनुसार फिर्ता पठाइएको हो । अहिले पार्कले सिंह, हात्ती, बाघ, डल्फिन र पेन्गुइन जस्ता अन्य जनावरहरूमा पर्यटकको ध्यान केन्द्रित गरिरहेको छ । जस्तै: पेन्गुइनको खोर नजिकै विशेष ‘बिनब्याग सोफा’ राखिएको छ जहाँबाट पर्यटकले पेन्गुइनकै नजरबाट दृश्यहरू अवलोकन गर्न सक्छन् ।
तथ्याङ्कअनुसार, गत वर्ष जुनमा पाण्डाहरू फर्किएलगत्तै पर्यटकको सङ्ख्यामा केही गिरावट आएको थियो । तर, अगस्टदेखि नै यसमा सुधार देखिन थाल्यो । प्रान्तीय तथ्याङ्कअनुसार सन् २०२५ मा सिराहमा आउने कुल पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले बढेको छ ।
पार्क बाहिर पनि सहरले आफ्ना सेता बालुवा भएका समुद्र तटहरूमा ‘एक्सपेरिमेन्टल क्याफे’ जस्ता नयाँ सुविधाहरू थपेको छ । स्थानीय पर्यटन संघका एक अधिकारी भन्छन्, ‘पाण्डाका कारण पारिवारिक पर्यटकहरू केही घटेका छन्, तर यहाँका तातोपानीका कुण्ड र प्राकृतिक सौन्दर्यको आनन्द लिन आउनेहरूको सङ्ख्या अझै बलियो छ ।’
कोकुगाकुइन विश्वविद्यालयका प्रोफेसर हिरोकाजु कोबायासीका अनुसार, केवल पाण्डामा मात्र निर्भर हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्थ्यो । उनी भन्छन्, ‘पाण्डाको आकर्षण अस्थायी थियो । अब सहरले आफ्ना अन्य मौलिक शक्तिहरू पहिचान गरेर पर्यटकहरूलाई पटक-पटक फर्काउन सक्ने वातावरण बनाउनुपर्छ ।’








