टोकियो – जापानको प्रशान्त तटीय क्षेत्रमा शनिबार एकसाथ दुईवटा समुद्री आँधी (ताइफुन) सक्रिय भएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ । ‘हिगोस’ र ‘मेखाल’ नाम दिइएका यी आँधीका कारण कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जापान मौसम विज्ञान विभाग र स्थानीय अधिकारीहरूका अनुसार यी दुई आँधीसँगै विकसित भएको मौसमी वर्षाको प्रणालीले देशका दक्षिण–पश्चिमी, पश्चिमी र पूर्वी तटीय क्षेत्रहरूमा भीषण वर्षा गराएको छ । मुसलधारे वर्षाका कारण कतिपय स्थानमा पहिरो जानुका साथै सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
यामागूची प्रान्तमा शुक्रबार गएको भीषण पहिरोमा परी ७० वर्षका एक वृद्धको मृत्यु भएको छ । पहिरोले घर ध्वस्त बनाउँदा ती वृद्ध अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए। सोही घटनामा अन्य तीन जना घाइते भएका छन् ।
खराब मौसम र भारी वर्षाका कारण जापानको हवाई र रेल यातायात सेवामा समेत व्यापक अवरोध सिर्जना भएको छ । सयौँ उडानहरू रद्द गरिएका छन् भने रेलको समयतालिका बिथोलिँदा हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
मौसम विभागका अनुसार शनिबार राति पूर्वी जापानको क्षेत्र पार गरेसँगै दुवै आँधीहरू कमजोर हुँदै न्यून चापीय प्रणालीमा परिणत भएका छन् । यद्यपि, अझै केही समय वर्षा जारी रहने सम्भावना रहेकाले तटीय र पहाडी भेगका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपील गरिएको छ ।








