टोकियो – वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका कारण अस्तित्वकै सङ्कट झेलिरहेको जापानमा एउटा सानो सहर यतिबेला विश्वकै लागि आशाको किरण बनेको छ । ओकायामा प्रान्तको उत्तर-पूर्वी भेगमा अवस्थित ‘नागी’ सहरले आफ्नो लोभलाग्दो बाल-मैत्री नीतिका कारण ‘मिरेकल टाउन’ (चामत्कारिक सहर) को पहिचान बनाएको छ ।
सन् २०१९ मा यस सहरको ‘कुल प्रजनन दर’ (एक महिलाले आफ्नो जीवनकालमा जन्माउन सक्ने सन्तानको औसत सङ्ख्या) २.९५ पुगेको थियो । सन् २०२५ मा जापानको राष्ट्रिय औसत जन्मदर १.१४ को चिन्ताजनक अवस्थामा झर्दा पनि ५,३०० जनसङ्ख्या भएको नागीले आफ्नो दर २ भन्दा माथि कायम राख्न सफल भएको छ । यो सफलताको रहस्य बुझ्न यतिबेला जापान र विदेशबाट समेत प्रशासनिक अध्ययन टोलीहरूको यहाँ ओइरो लाग्ने गरेको छ ।
नागीको यो परिवर्तनको जग सन् २००२ मा बसिएको थियो । त्यसबेला छिमेकी सहरहरूसँग गाभिने लहर चले पनि यहाँका बासिन्दाले जनमत सङ्ग्रहमार्फत ‘स्वतन्त्र’ रहने निर्णय गरे । सहरका ६७ वर्षीय मेयर मासाचिका ओकु सम्झन्छन्, ‘आफ्नो अस्तित्व जोगाउन हामीले जनसङ्ख्या बढाउनै पर्ने थियो, त्यसैले हामीले सन्तान हुर्काउने र शिक्षामा लगानी गर्ने कडा सङ्कल्प गर्यौँ ।’
सहरले सन् २००७ मा एउटा पुरानो किन्डरगार्टन भवनलाई ‘नागी चाइल्ड होम’ मा परिणत गर्यो। यो केवल शिशु स्याहार केन्द्र मात्र होइन, बरु आमाहरूको भेटघाट गर्ने र अनुभव साटासाट गर्ने ‘साझा चौतारी’ बनेको छ । यहाँ महिनाको दुई पटक ‘मन्च-मन्च टाइम’ आयोजना गरिन्छ, जहाँ आमाहरूले पोषणविद्को सल्लाहमा आफ्नै हातले शिशुका लागि खानेकुरा बनाउँछन् । ७ महिने छोरी बोकेर कार्यक्रममा आएकी २९ वर्षीया चिकाको ओनिसी भन्छिन्, ‘यहाँ आएपछि एक्लो महसुस हुँदैन, सन्तान हुर्काउने धेरै कुरा सिक्न पाइन्छ ।’
नागी सहरले नयाँ बासिन्दा र युवा दम्पतीलाई आकर्षित गर्न ‘सिमलेस’ (निरन्तर) आर्थिक सहयोगको प्याकेज ल्याएको छ । यहाँ प्रत्येक बच्चा जन्मिँदा परिवारले १ लाख येन ‘बोनस’ पाउँछन् । त्यसबाहेक, बच्चाको स्कूलको शैक्षिक सामग्री, दिउँसोको खाजा र अस्पतालको सम्पूर्ण खर्च उच्च माध्यमिक तहसम्म सरकारले नै बेहोर्छ । सहरमा आफ्नो हाइस्कूल नभएकाले बाहिर पढ्न जाने विद्यार्थीको यातायात खर्चमा समेत नगरपालिकाले अनुदान दिन्छ । सन् २०२४ देखि त १ वर्ष मुनिका शिशुहरूलाई समेत अङ्ग्रेजी भाषा सिकाउन विशेष शिक्षकको व्यवस्था गरिएको छ ।
सन्तान हुर्काइरहेका आमाबुबालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहरले सन् २०१७ देखि ‘सिगोतो कोन्बिनी’ (कामको सुविधा पसल) अवधारणा सुरु गरेको छ । यसअन्तर्गत स्थानीय बासिन्दाहरूले आफ्नो फुर्सदको समयमा साना-साना कामहरू बाँडेर गर्छन् ।
हाल यसमा करिब ३७० जना दर्ता छन्, जसमा साना बच्चा भएका आमाहरू र ‘थोरै समय काम गर्न सक्ने’ वृद्धवृद्धाहरू सामेल छन् । यहाँ कागजपत्र मिलाउने, खेतबारीमा सघाउने, घाँस काट्नेदेखि कम्प्युटर सिकाउनेसम्मका झन्डै १,००० प्रकारका कामहरू उपलब्ध छन् । विवाहपछि कानागावा प्रान्तबाट यहाँ सरेकी ३७ वर्षीया सायका हानाफुसा भन्छिन्, ‘आफ्नो खाली समयमा खेतमा बन्दागोभी टिप्न वा अन्य काम गर्न पाउँदा आम्दानी पनि हुन्छ र रमाइलो पनि ।’
छिमेकीसँग नगाभिई आफ्नै खुट्टामा उभिने निर्णय गरेको नागी सहरले प्रमाणित गरिदिएको छ कि यदि इच्छाशक्ति र सही नीति हुने हो भने ‘डेमोग्राफिक’ सङ्कटलाई पनि उल्ट्याउन सकिन्छ । ‘सहरलाई जीवित राख्न हामी अझै प्रभावकारी बाल-मैत्री कार्यक्रमहरू ल्याइरहनेछौँ,’ मेयर ओकुले दृढता व्यक्त गरे । जापानको रित्तिँदै गरेका ग्रामीण बस्तीहरूका लागि ‘नागी’ मोडेल यतिबेला सबैभन्दा सफल उदाहरण बनेको छ ।








