
जापानसहित विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली समुदायबीच पछिल्लो समय हुन्डी कारोबारको समस्या फेरि गम्भीर रूपमा उठ्न थालेको छ । कानूनी बैंकिङ प्रणालीलाई छलेर गरिने यस्तो अवैध आर्थिक कारोबारले राज्यको राजस्व प्रणालीलाई कमजोर बनाउनुका साथै आर्थिक अपराध, कर छली र सम्पत्ति शुद्धीकरणजस्ता जोखिमलाई समेत बढावा दिने भएकाले सम्बन्धित निकायहरूले निगरानी, खोजबिन र सुराकी संकलनलाई तीव्र बनाएका छन् ।
हुन्डी प्रणाली कुनै नयाँ विषय होइन । वैदेशिक रोजगारी, अध्ययन वा व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीहरूले छिटो र सहज रूपमा पैसा पठाउने माध्यमका रूपमा विगतदेखि यसको प्रयोग हुँदै आएको देखिन्छ । तर, समयसँगै बैंक तथा वैधानिक रेमिट्यान्स सेवाहरू सहज र सर्वसुलभ बन्दै गएका छन् । त्यसपछि पनि हुन्डी कारोबार निरन्तर रहनु चिन्ताको विषय बनेको छ । यसले कानूनी वित्तीय प्रणालीमाथिको विश्वास कमजोर बनाउने मात्र होइन, आपराधिक गतिविधिहरूलाई समेत संरक्षण गर्ने खतरा बढाउँछ ।
विशेष गरी जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका तथा युरोपका विभिन्न मुलुकमा नेपाली समुदायबीच हुन्डी कारोबार हुने गरेको आशंका सरकारी निकायहरूले नै व्यक्त गर्दै आएका छन् । पछिल्ला दिनहरूमा विभिन्न देशका वित्तीय नियामक संस्था, प्रहरी तथा अध्यागमन विभागहरूले शंकास्पद कारोबारमाथि निगरानी बढाएका छन् । सामाजिक सञ्जाल, मेसेजिङ एप तथा अनौपचारिक नेटवर्कमार्फत सञ्चालन हुने यस्ता कारोबारका सम्बन्धमा सूचना संकलन र अनुसन्धानलाई समेत तीव्र पारिएको छ ।
हुन्डी कारोबारमा संलग्न व्यक्तिहरूले प्रारम्भमा केही प्रतिशत लाभ लिन सक्लान्, तर यसको दीर्घकालीन असर निकै गम्भीर हुन्छ । कुनै पनि समयमा अनुसन्धानको दायरामा पर्न सकिने, बैंक खाता रोक्का हुन सक्ने, कर सम्बन्धी समस्या आउन सक्ने तथा कानूनी कारबाही भोग्नुपर्ने जोखिम रहन्छ । विदेशमा बस्ने नेपाली समुदायका लागि यस्तो अवस्था व्यक्तिगत मात्र नभई सामुदायिक प्रतिष्ठाको विषय पनि बन्न सक्छ ।
यस सन्दर्भमा नेपाली समुदायले समेत आत्मसमीक्षा गर्न आवश्यक छ । आर्थिक कारोबारमा पारदर्शिता र कानूनी प्रक्रियाको पालनाले मात्र सुरक्षित भविष्य सुनिश्चित गर्न सक्छ । केही रुपैयाँ बचत गर्ने लोभमा वा छिटो सेवा पाइने बहानामा हुन्डीको प्रयोग गर्नु अन्ततः आफूलाई नै जोखिममा पार्नु हो । आजको डिजिटल युगमा बैंक, रेमिट्यान्स कम्पनी तथा विभिन्न अनलाइन वित्तीय सेवाहरू उपलब्ध भइरहेका बेला अवैध माध्यम रोज्नु कुनै पनि दृष्टिले उचित देखिँदैन ।
समुदायका अगुवा, सामाजिक संस्था, व्यवसायी तथा सञ्चारमाध्यमहरूले पनि यस विषयमा जनचेतना फैलाउन भूमिका खेल्नुपर्छ । वैधानिक माध्यमबाट रकम पठाउने संस्कृतिको विकास गर्दै आर्थिक अनुशासन कायम गर्न सकिए मात्र नेपाली समुदायको विश्वसनीयता अझ बलियो बन्नेछ । हुन्डीविरुद्धको अभियान केवल सरकारी निकायको जिम्मेवारी मात्र होइन, समग्र नेपाली समुदायको साझा दायित्व हो ।
जापान स्थित नेपाली राजदूतावासले पनि हुन्डी कारोबारलाई निरुत्साहित गर्न बेला बेलामा सूचना प्रकाशित गर्दै संलग्न ब्यक्तिहरुको बारेमा सूचना दिन सार्बजनिकरुपमा आह्वान गरेको पाईन्छ, तथापि त्यसको परिणाम र प्रतिक्रियाका बारेमा जानकारी भने बाहिर आएको पाईदैन । नेपाली समुदायबीच ब्याप्त सर्बसाधारणको एउटा आम बुझाई के रहेको छ भने यदाकदा रेमिट्यान्स ब्यवसायीहरु नै हुन्डी कारोवार गर्छन् । यो भनाईमा सत्यता नभएको पुष्टि गर्न र हुन्डी कारोबारलाई निरुत्साहित गर्न रेमिट्यान्स व्यवसायीहरुको संयुक्त पहलकदमी हुनुपर्ने हो, त्यो पनि खासै हुने गरेको पाईदैन । जसले गर्दा आशंका गर्नेहरुको नियतमा खोट लगाउने ठाउँ पनि देखिदैंन । हाम्रो समाजमा ब्याप्त कतिपय यस्ता अनदेखा गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक च्यानललाई प्रोत्साहित गर्न सराकोकारवला निकाय तथा संघसंस्थाहरुको जिम्मेवार भूमिकाको अपेक्षा गरिएको छ । हुन्डी कारोवार सम्बन्धि विषयलाई लिएर टोकियो महानगरिय प्रहरी अपराध अनुसन्धान विभागले पनि आफ्नो सक्रियता बढाएको र जसअनुसार आफ्नो निगरानीलाई तीब्र पारिएको जानकारीमा आएको छ ।








