समाचार सुन्नुहोस :
काठमाडौँ – पछिल्ला १० महिनामा जापानमा ६७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि जेठ १८ गतेसम्म मृत्यु भएका नेपालीमध्ये २५ जनाले आत्महत्या गरेका छन्। अधिकांश मृतक विद्यार्थी भिसामा जापान पुगेका नेपाली रहेको जनाइएको छ।
जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार पछिल्लो समय मृत्युका घटना बढ्दै जाँदा शव व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ। जापानबाट नेपाल शव ल्याउन करिब १२ लाख रुपैयाँ खर्च लाग्ने भएकाले धेरै परिवार समस्यामा पर्ने गरेका छन्। विद्यार्थी भिसामा जानेहरूले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नहुँदा मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोगसमेत नपाउने अवस्था रहेको छ। अधिकांश मृतक निर्माण क्षेत्र, होटल, रेस्टुरेन्ट र सप्लाई कम्पनीमा कार्यरत थिए।
गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका अनुसार उच्च ब्याजमा ऋण लिएर जापान पुगेका विद्यार्थी महँगो जीवनशैली, सीमित कामको समय, भाषा समस्या र आर्थिक दबाबका कारण मानसिक तनावमा पर्ने गरेका छन्। काम नपाउँदा वा ऋण तिर्न नसक्दा कतिपयले आत्महत्यासम्म गर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
जापानमा हाल करिब ३ लाख नेपाली बसोबास गरिरहेका छन्। त्यसमध्ये ठूलो संख्या विद्यार्थी भिसामा पुगेका छन्। दूतावासले व्यक्तिगत श्रम स्वीकृति र विद्यार्थी भिसामा जाने नेपालीको अभिलेख व्यवस्थित नहुँदा समस्या समाधान गर्न थप कठिन भइरहेको जनाएको छ।








