समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ। गत चैत ४ गते मोरङमा पहिलोपटक देखिएको बर्डफ्लु झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको विभागले जनाएको छ।
संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ। यस्तै करिब १० लाख अण्डा र एक हजार ९५४ क्विन्टलभन्दा बढी दाना पनि नष्ट गरिएको पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन्। विभागले बर्डफ्लु नियन्त्रणका लागि विशेष टोली परिचालन गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ। कोशी प्रदेशका केही जिल्लामा संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निगरानी बढाइएको छ।
भाइरसमा कुनै परिवर्तन भएको छ वा छैन भन्ने पत्ता लगाउन जिन अनुक्रमण प्रक्रिया सुरु गरिएको छ। विभागले किसानलाई जैविक सुरक्षा अपनाउन, फार्ममा निसंक्रमणको व्यवस्था गर्न, जंगली पक्षीसँग सम्पर्क रोक्न र अस्वाभाविक रूपमा पक्षी बिरामी वा मरेमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।








