Deneme Bonusu Veren Siteler
शनिबार, असार १३, २०८३
Saturday, June 27, 2026

टोकियो – मध्य जापानको यामानासी प्रान्त र आसपासका क्षेत्रमा शुक्रबार राति ५.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन भने प्रसिद्ध ज्वालामुखी ‘माउन्ट फुजी’ को गतिविधिमा पनि कुनै असामान्यता फेला नपरेको मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयअनुसार शुक्रबार राति १०:२९ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनबाट करिब २० किलोमिटर गहिराइमा रहेको थियो । जापानी भूकम्पीय तीव्रता मापन स्केलअनुसार यामानासीको फुजीकावागुचिको सहरमा ‘लोअर ६’को तीव्रता रेकर्ड गरिएको छ ।

जापानमा ७ विन्दुसम्मको मापन स्केल प्रयोग गरिन्छ, जसमा ‘लोअर ६’ को अर्थ मानिसहरूलाई उभिन निकै कठिन हुने, सुरक्षित नगरिएका फर्निचरहरू ढल्ने र झ्यालका सिसाहरू फुट्न सक्ने स्तरको कडा कम्पन हो । भूकम्पको धक्का राजधानी टोकियोसहितका अन्य सहरी क्षेत्रमा पनि महसुस गरिएको थियो, जहाँ ‘स्तर ४’ को तीव्रता रेकर्ड गरिएको छ ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले पत्रकार सम्मेलन गर्दै चुबु इलेक्ट्रिक पावर कम्पनीको ‘हामाओका’ प्लान्ट लगायतका कुनै पनि आणविक ऊर्जा केन्द्रहरूमा क्षति नपुगेको जानकारी दिए । भूकम्प लगत्तै टोकियो र ओसाका जोड्ने ‘तोकाइदो सिन्कानसेन’ (बुलेट ट्रेन) सेवा केही समयका लागि स्थगित गरिएको थियो । त्यस्तै, तोहोकु, जोएत्सु र होकुरिकु सिन्कानसेन लाइनहरू स्वचालित रूपमा रोकिए पनि करिब १५ मिनेटपछि पुनः सञ्चालनमा आएका थिए ।

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको फुजीकावागुचिको नगर कार्यालयका एक अधिकारीले भूकम्पको धक्का तलबाट माथितर्फ उकासिएको जस्तो महसुस भएको बताए । स्थानीय एक सुविधा पसलमा कार्यरत ६४ वर्षीया कर्मचारीले भनिन्, ‘१० सेकेन्डभन्दा बढी समयसम्म ठाडो कम्पन महसुस भयो, पसलका सामानहरू र्‍याकबाट तल खसेका थिए ।’

माउन्ट फुजीमा सन्त्रास
यो भूकम्प यस्तो समयमा गएको छ, जब ३,७७६ मिटर अग्लो माउन्ट फुजीमा अर्को महिनादेखि सुरु हुने पर्वतारोहण सिजनका लागि तयारी भइरहेको थियो । भूकम्पपछि धेरैमा ज्वालामुखी विस्फोट हुन सक्ने आशङ्का रहे तापनि विज्ञहरूले त्यसलाई तत्कालका लागि खारेज गरिदिएका छन् । क्योटो विश्वविद्यालयका प्रोफेसर ताकुया निसिमुराका अनुसार यो क्षेत्रमा हरेक १० वर्षमा एक पटक ६ म्याग्निच्युड आसपासको भूकम्प जानु सामान्य प्रक्रिया हो र यसले माउन्ट फुजी विस्फोट गराउने सम्भावना रहँदैन ।

जापानमा पछिल्लो ४८ घण्टाभित्रै दुईवटा ठूला भूकम्प गएका छन्; यसअघि बिहीबार उत्तर-पूर्वी जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली धक्का महसुस गरिएको थियो।

तपाईको प्रतिक्रिया