Deneme Bonusu Veren Siteler
सोमवार, असार १५, २०८३
Monday, June 29, 2026

टोकियो – उत्तर-पूर्वी जापानमा आइतबार बिहानै ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पपछि सुनामीको कुनै चेतावनी भने जारी गरिएको छैन ।

स्थानीय समयअनुसार आइतबार बिहान ५:२१ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको प्रशान्त तटीय क्षेत्रमा जमिनबाट करिब ४० किलोमिटर गहिराइमा रहेको थियो ।

जापानी भूकम्पीय तीव्रता मापन स्केल अनुसार आओमोरी र इवाते प्रान्तका केही भागमा ‘लोअर ५’को तीव्रता रेकर्ड गरिएको छ । जापानको ७ विन्दुको मापन स्केलमा ५ को तीव्रता हुनु भनेको मानिसहरूलाई हिँडडुल गर्न कठिन हुने र घरभित्र रहेका वस्तुहरू खस्न सक्ने स्तरको कम्पन हो ।

टोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार आओमोरी प्रान्तको ‘हिगासिदोरी’ र मियागी प्रान्तको ‘ओनागावा’ आणविक ऊर्जा केन्द्रहरूमा कुनै पनि असामान्यता देखिएको छैन । त्यसैगरी, आओमोरीकै तटीय गाउँ रोक्कासोमा रहेको आणविक इन्धन प्रशोधन केन्द्र पनि पूर्ण रूपमा सुरक्षित रहेको ‘जापान न्यूक्लियर फ्युल लिमिटेड’ ले जनाएको छ ।

यो भूकम्प यस्तो समयमा गएको छ, जब सोही क्षेत्रमा गत बिहीबार मात्र ७.२ म्याग्निच्युडको भीषण भूकम्प गएको थियो । बिहीबारको धक्काले १० जनाभन्दा बढी मानिस घाइते हुनुका साथै बुलेट ट्रेन (सिन्कानसेन) सेवा अवरुद्ध भएको थियो र विद्यालयहरू समेत बन्द गर्नुपरेको थियो ।

बिहीबारको भूकम्प आओमोरीको हासिकामा क्षेत्रमा ‘अपर ६’ को तीव्रतामा महसुस गरिएको थियो, जसका कारण मौसम विभागले आगामी एक हप्तासम्म थप शक्तिशाली धक्काहरू आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी दिएको थियो ।

पछिल्लो समय उत्तर-पूर्वी जापानमा लगातार गइरहेका ठूला भूकम्पहरूले स्थानीय बासिन्दाहरूलाई त्रसित बनाएको छ । विशेषज्ञहरूले जमिनमुनिको टेक्टोनिक प्लेटको हलचल अझै स्थिर नभएकाले थप धक्काहरूका लागि तयार रहन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया