टोकियो – जापानको प्रशान्त तटीय क्षेत्रमा एकपछि अर्को गरी दुईवटा समुद्री आँधी (ताइफुन) सक्रिय भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । शनिबार शक्तिशाली आँधी ‘मेखाला’ राजधानी टोकियोको नजिकैबाट गुज्रने प्रक्षेपण गरिएको छ भने यसअघिको आँधी र मौसमी वर्षाका कारण आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
जापान मौसम विज्ञान विभाग र स्थानीय अधिकारीहरूका अनुसार ‘मेखाला’ र ‘हिगोस’ नाम दिइएका दुई आँधी तथा मौसमी वर्षाको प्रणालीका कारण पश्चिमी र दक्षिण-पश्चिमी जापानमा भीषण वर्षा भइरहेको छ । मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै सडक पूर्वाधारमा क्षति पुगेको छ ।
यामागूची प्रान्तमा शुक्रबार गएको भीषण पहिरोले एक घर पुरिँदा ७० वर्षका एक वृद्धको मृत्यु भएको छ । पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन् । उद्धारकर्मीहरूले ती वृद्धलाई भग्नावशेषबाट अचेत अवस्थामा फेला पारी अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।
मौसम विभागका अनुसार ‘हिगोस’ आँधी शनिबार बिहान केही कमजोर भई न्यून चापीय प्रणालीमा परिणत भएको छ । यद्यपि, अर्को आँधी ‘मेखाला’ भने प्रशान्त महासागरको तटीय क्षेत्र हुँदै उत्तर-पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यो आँधी शनिबार साँझसम्म टोकियो र वरपरका कान्तो क्षेत्रको नजिक पुग्ने अनुमान गरिएको छ ।
आगामी २४ घण्टामा (आइतबार मध्याह्नसम्म) मध्य जापानको तोकाइ क्षेत्रमा २०० मिलिमिटर र राजधानी टोकियोसमेत पर्ने कान्तो-कोशिन क्षेत्रमा १५० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।
विभागले पहिरो, बाढी र समुद्रमा उठ्ने उच्च छालको जोखिम रहेकाले तटीय तथा पहाडी भेगका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ लाग्न अपील गरेको छ । खराब मौसमका कारण केही हवाई उडान र रेल सेवाहरू समेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।








