टोकियो – जापानको कोची सहरमा आफ्नी पूर्व-प्रेमिकाको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपमा एक ३८ वर्षीय बेरोजगार युवकलाई प्रहरीले पक्राउ गरेको छ । कोची प्रान्तकै कोनान सहरका स्थायी बासिन्दा ताकासी चुनेइसीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
घटना गत आइतबारको हो । बिहान करिब ८:३० बजे चुनेइसी ती ३० वर्षीया महिलाको घरको मूल ढोकामा पुगेर जोडले हान्दै होहल्ला र अशान्ति मच्चाएका थिए । चुनेइसीको व्यवहारबाट त्रसित भएपछि ती महिलाले प्रहरीलाई खबर गरेकी थिइ न्।
सूचना पाउनासाथ घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले चुनेइसीलाई मौखिक चेतावनी दिँदै त्यहाँबाट जान बाध्य पारेका थिए । महिलाको सुरक्षालाई जोखिममा देखेर प्रहरीले उनलाई तत्काल संरक्षणका लागि प्रहरी स्टेशन लगेको थियो ।
ती महिलाले सो घरमा बस्न असुरक्षित महसुस गर्दै अन्तै सर्ने निर्णय गरिन् । सोही दिन दिउँसो करिब ११:२० बजे लुगाफाटा र आफ्नो अन्य सामान लिन उनी प्रहरी अधिकारीहरूकै साथमा पुनः घर फर्किन् । तर, घर पुग्दा सबै चकित परे; चुनेइसी पहिले नै झ्याल वा अन्य माध्यमबाट घरभित्र छिरिसकेको अवस्थामा भेटिए । प्रहरीले उनलाई घरभित्रैबाट रङ्गेहात पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती महिलाले यसअघि चुनेइसीका विरुद्धमा कुनै पनि आधिकारिक उजुरी वा गुनासो दर्ता गरेकी थिइनन् । पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछका क्रममा अभियुक्तले केही पनि बोल्न अस्वीकार गर्दै ‘मौन’ रहने बताएका छन् । प्रहरीले यसलाई गम्भीर उत्पीडन वा ‘स्ट्रकिङ’को मामला हुन सक्ने आशङ्कामा थप अनुसन्धान अगाडि बढाएको छ ।








