टोकियो – मैदानभित्र खेलाडीको उत्कृष्ट प्रदर्शन र मैदानबाहिर समर्थकको उच्च संस्कार विश्वकप-२०२६ मा जापानी टोलीले पुनः एकपटक विश्वको ध्यान आफूतिर खिचेको छ । सोमबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई बराबरीमा रोक्दै जापानले महत्त्वपूर्ण १ अंक मात्र जोडेन, उसका समर्थकहरूले खेलपछि रंगशाला सफा गरेर विश्वभरका खेल प्रेमीहरूको मन समेत जितेका छन् ।
डालास स्टेडियममा भएको उक्त प्रतिस्पर्धामा २-१ ले पछि परेको अवस्थामा दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गरेको थियो । ओगावा कोकीको हेडिङ प्रहार कामादा दाइचीको टाउकोमा लाग्दै गोलमा परिणत भएपछि खेल २-२ को बराबरीमा सकियो । विश्व वरीयतामा माथि रहेको नेदरल्याण्ड्स विरुद्धको यो नतिजा जापानका लागि ऐतिहासिक सावित भयो ।
खेल सकिएर दर्शकहरू बाहिरिँदै गर्दा जापानी समर्थकहरू भने आफ्ना निलो रङका फोहोर संकलन गर्ने झोला लिएर स्ट्यान्डमा छरिएका बोतल, कप र अन्य फोहोर उठाउन व्यस्त देखिए । यो दृश्य देखेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघले आफ्नो आधिकारिक ‘एक्स’ खातामा भिडियो सार्वजनिक गर्दै लेखेको छ, ‘जापानी समर्थकहरूले किन प्रत्येक खेलपछि रंगशाला सफा गर्छन्? यो नै ‘सम्मान’ हो ।’
अमेरिकी सञ्चारमाध्यम फक्स स्पोर्ट्सले प्रत्यक्ष प्रसारणकै क्रममा जापानी समर्थकहरूको यो कार्यलाई ‘एक अद्भुत परम्परा’ भन्दै प्रशंसा गर्यो । ‘हामीले खेलअघि नै उनीहरूले बोकेका निलो झोलाका बारेमा कुरा गरेका थियौँ, अहिले उनीहरूले त्यसको प्रयोग गरिरहेका छन् । यो साँच्चै लोभलाग्दो दृश्य हो,’ फक्सका टिप्पणीकारहरूले भने ।
त्यसैगरी, खेलकुदको प्रतिष्ठित संस्था ‘ईएसपीएन’ले पनि जापानी फ्यानहरूको तस्बिर साझा गर्दै ‘यस्तो परम्परा अन्यत्र कतै पाइँदैन’ भनी प्रशंसा गरेको छ ।
विश्वकपमा जापानी समर्थकहरूले रंगशाला सफा गर्ने कार्य अब एउटा नियमित ‘परम्परा’ जस्तै बनेको छ । यसअघि कतार विश्वकपमा पनि उनीहरूको यो कार्यले विश्वव्यापी चर्चा पाएको थियो । जापानले यसपटकको विश्वकपमा पहिलो पटक क्वार्टरफाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । मैदानमा खेलाडीहरूले लक्ष्य प्राप्तिका लागि पसिना बगाइरहँदा, मैदानबाहिर समर्थकहरूले देखाएको यो सभ्य व्यवहारले जापानको पहिचानलाई अझ उच्च बनाएको छ ।








