काठमाडौं – विगत केही महिनादेखि जारी भीषण युद्धलाई पूर्णविराम लगाउँदै संयुक्त राज्य अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत दुई देशबीच युद्ध अन्त्य गर्ने सहमति भएको र विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘हर्मुज जलडमरू पुनः सञ्चालनमा आउने घोषणा गर्नुभएको छ ।
‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ,’ राष्ट्रपति ट्रम्पले भन्नुभयो । उहाँका अनुसार आगामी शुक्रबार समझदारी पत्रमा औपचारिक हस्ताक्षर भएलगत्तै हर्मुज जलडमरू खुल्नेछ र दुवैतर्फबाट तेलको प्रवाह पुनः सुचारु हुनेछ ।
इरानी उपपरराष्ट्रमन्त्री काजेम गरिबाबाडीले सरकारी टेलिभिजनमार्फत लेबनानसहितका सबै मोर्चाहरूमा भइरहेको लडाइँ तत्काल र स्थायी रूपमा बन्द हुने जानकारी दिनुभएको छ । इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘तास्निम’ ले पनि शुक्रबारको हस्ताक्षरपछि रणनीतिक रूपमा महत्वपूर्ण मानिने सो जलमार्ग खुला हुने पुष्टि गरेको छ ।
यद्यपि, सम्झौता कार्यान्वयन हुनुअघि केही प्राविधिक विषयमा मतभेद अझै कायम देखिन्छ । इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले जलडमरू भएर जाने जहाजहरूबाट इरानले ‘सेवा शुल्क’ लिने बताएका छन् । तर, राष्ट्रपति ट्रम्प र उनको वार्ता टोलीले भने इरानले कुनै पनि प्रकारको महसुल उठाउने कुराको कडा विरोध गर्दै आएका छन् ।
गत फेब्रुअरीको अन्त्यतिर इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो । अप्रिलको सुरुमा एक कमजोर युद्धविराम भए तापनि यसै महिनाको सुरुमा अमेरिकी हेलिकप्टर खसालिएपछि दुई देशबीच पुनः गोलाबारी सुरु भएको थियो ।
युद्धका कारण विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएको थियो । यसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजार अस्तव्यस्त हुनुका साथै विश्व अर्थतन्त्रमै अनिश्चितता र महँगीको छाया मडारिएको थियो । यो सम्झौतापछि विश्व बजारमा तेलको मूल्य घट्ने र आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
मध्यपूर्वको यो पछिल्लो सकारात्मक विकासक्रमका बारेमा फ्रान्सको एभियान-लेस-बेन्समा सोमबारदेखि सुरु हुने विकसित राष्ट्रहरूको समूह ‘जी-७’ को तीन दिने शिखर सम्मेलनमा विस्तृत छलफल हुनेछ । सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प स्वयं फ्रान्स जाँदै हुनुहुन्छ ।








