टोकियो – जापानकी प्रधानमन्त्री सानाए ताकाइची र इटालीकी समकक्षी जोर्जिया मेलोनीबीच सोमबार इटालीको राजधानी रोममा उच्चस्तरीय शिखर वार्ता सम्पन्न भएको छ । फ्रान्समा आयोजना हुने विकसित राष्ट्रहरूको समूह ‘जी-७’ को शिखर सम्मेलनमा सहभागी हुनुअघि भएको यस भेटमा दुई देशबीच सेमिकन्डक्टर (अर्धचालक), उन्नत प्रविधि, आर्थिक सुरक्षा र रक्षा क्षेत्रमा साझेदारीलाई थप गहिरो बनाउने ऐतिहासिक सहमति भएको छ ।
भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न भएको प्रारम्भिक सहमतिको स्वागत गरे । मध्यपूर्वको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा आएको अवरोधप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले ‘हर्मुज जलडमरू’मा जहाजहरूको निर्वाध आवागमन सुनिश्चित गर्नु विश्व समुदायका लागि अनिवार्य रहेको बताए ।
यस वर्ष जापान र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको १६०औँ वर्षगाँठ मनाइँदैछ । सोही ऐतिहासिक अवसरमा दुई देशले ‘विशेष रणनीतिक साझेदार’का रूपमा उच्च प्रविधि उद्योगका लागि आवश्यक पर्ने महत्वपूर्ण खनिजहरूको आपूर्ति सञ्जाललाई मजबुत बनाउने निर्णय गरेका छन् । विशेष गरी खनिजका लागि चीनमाथि रहेको अत्यधिक निर्भरतालाई कम गर्न दुवै देशले सहकार्य गर्नेछन् ।
प्रधानमन्त्री ताकाइचीले ले भनिन्, ‘मेलोनी र म मध्यपूर्व, युक्रेन युद्ध र पूर्वी एसियाको सुरक्षाका साथै चीन र उत्तर कोरियाका चुनौतीहरूबारे निकट रहेर काम गर्न सहमत भएका छौँ ।’
प्रविधि क्षेत्रमा, जापानको सरकारी समर्थन प्राप्त र चिप निर्माणमा सक्रिय कम्पनी ‘र्यापिडस कर्पोरेसन’ र इटालीको सेमिकन्डक्टर डिजाइन फर्मबीचको सहकार्यलाई दुवै सरकारले पूर्ण सहयोग गर्ने वाचा गरेका छन् । साथै, अन्तरिक्षमा रहेका कबाडी वस्तुको व्यवस्थापन र भूउपग्रहबाट प्राप्त हुने तथ्याङ्कको विश्लेषणमा पनि दुई देशबीच नयाँ साझेदारी सुरु हुने भएको छ ।
रक्षा क्षेत्रमा, जापान, इटाली र बेलायतले संयुक्त रूपमा विकास गरिरहेको ‘ग्लोबल कम्ब्याट एयर प्रोग्राम’ अन्तर्गत अर्को पुस्ताको अत्याधुनिक लडाकु विमान निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको छ । दुवै प्रधानमन्त्रीले युरो-एट्लान्टिक र इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा एकअर्कासँग अभिन्न रूपमा जोडिएको तथ्यलाई पुनः पुष्टि गरेका छन् ।
वार्ताका क्रममा प्रधानमन्त्री ताकाइचीले केही वाक्य इटालेली भाषामा बोल्दै मेलोनीको कार्यशैली र इटालीको श्रमप्रतिको निष्ठाको प्रशंसा गरिन् । उनले इटालीका गाडी र फेसन विश्वविख्यात हुनुमा त्यहाँका जनताको कडा मिहिनेतको हात रहेको बताइन् ।








