काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भएका खेलहरूमा फुटबलका हस्ती टोलीहरू अपेक्षाकृत नतिजा निकाल्न असफल भएका छन् । पूर्व च्याम्पियन स्पेनलाई विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले बराबरीमा रोकेर स्तब्ध पारेको छ भने बेल्जियम र उरुग्वेले पनि अंक बाँडेका छन् ।
अमेरिकाको एट्लान्टामा भएको खेलमा विश्वकै तेस्रो सानो राष्ट्र केप भार्डेले बलियो स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक नतिजा निकाल्यो । आफ्ना मुख्य खेलाडी लामिन यमल र निको विलियम्स चोटका कारण सुरुवाती ११ मा नहुँदा फितलो देखिएको स्पेनविरुद्ध केप भार्डेका ४० वर्षे गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गरे । यो नतिजालाई विश्वकप इतिहासकै ठूलो ‘अपसेट’ मानिएको छ ।
सियाटलमा भएको अर्को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेलेका छन् । खेलको १९ औं मिनेटमा मोहम्मद सलाहको पासमा इमाम अशोरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुलाई रोक्ने क्रममा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि बेल्जियमले खेल बराबरीमा ल्यायो । इजिप्टले विश्वकपमा अझै जित निकाल्न सकेको छैन ।
त्यस्तै, मियामीमा भएको खेलमा साउदी अरेबिया र पूर्व विजेता उरुग्वे पनि १–१ को बराबरीमा रोकिएका छन् । ४१ औं मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट साउदीले अग्रता लिए पनि ८० औं मिनेटमा उरुग्वेका म्याक्सिमिलिनो अरुजोले बराबरी गोल फर्काए । अन्तिम समयसम्म दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन । यी बराबरी नतिजाहरूले विश्वकपको समूह चरणको समीकरणलाई थप रोचक बनाएको छ ।








