Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – जापानी केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले मंगलबार आफ्नो प्रमुख नीतिगत ब्याजदर बढाएर १.० प्रतिशत पुर्‍याएको छ । मध्यपूर्वको द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा भएको वृद्धि र डलरको तुलनामा येनको लगातारको अवमूल्यनले निम्त्याएको मुद्रास्फीति (महँगी) को जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो निर्णय लिएको हो ।

मंगलबार सम्पन्न दुई दिने नीतिगत बैठकले अल्पकालीन ब्याजदरलाई ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ । यो सन् १९९० को दशकपछिकै सबैभन्दा उच्च ब्याजदर हो । कलेजोको समस्याका कारण गभर्नर काजुओ उएडा अस्पतालमा भर्ना भएको अवस्थामा बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।

जापानी अधिकारीहरूले पटक-पटक मुद्रा बजारमा हस्तक्षेप गरे तापनि येन प्रति डलर १६० को गम्भीर विन्दुसम्म खस्किएपछि आयातित वस्तुहरू महँगो हुँदा जापानी अर्थतन्त्रमा दबाब परेको थियो। यद्यपि अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ, तर ‘हर्मुज जलडमरू’बाट हुने ढुवानी तत्कालै सामान्य नहुने र यातायात तथा कच्चा पदार्थको लागत उच्च रहने विश्लेषणका आधारमा बैंकले ब्याजदर बढाउनु परेको हो ।

ब्याजदर वृद्धिले कम्पनीहरूको ऋण लिने लागत बढाउने र निजी उपभोगमा केही सुस्तता ल्याउन सक्ने भए तापनि महँगी नियन्त्रणका लागि यो अनिवार्य देखिएको छ । जापानमा गत मे महिनामा थोक मूल्य अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशतले बढेको छ, जुन विगत तीन वर्षयताकै तीव्र वृद्धि हो । इरान युद्धका कारण बढेको लागत कम्पनीहरूले सिधै उपभोक्ता मूल्यमा थप्न थालेपछि बैंक सतर्क बनेको हो ।

बैंकले मौद्रिक नीतिलाई सामान्यीकरण गर्ने प्रक्रियाअन्तर्गत सरकारी ऋणपत्र खरिद गर्ने गतिलाई पनि बिस्तारै घटाउने योजना अघि सारेको छ । सन् २०२७ को मार्चसम्म त्रैमासिक रूपमा करिब २०० अर्ब येनले खरिद कटौतीलाई निरन्तरता दिइने बैंकले जनाएको छ ।

जापानको यो निर्णयले उसलाई युरोपेली केन्द्रीय बैंक जस्ता अन्य वैश्विक बैंकहरूको लाममा उभ्याएको छ, जसले महँगी विरुद्ध लड्न ब्याजदर बढाइरहेका छन् । हाल सरकारले बिजुली, ग्यास र पेट्रोलमा दिइरहेको अनुदानका कारण उपभोक्ता महँगी २ प्रतिशतको लक्ष्यभन्दा केही तल देखिए तापनि अनुदान हटाउनासाथ यो नियन्त्रण बाहिर जान सक्ने जोखिम अर्थविद्हरूले औँल्याएका छन् ।

तपाईको प्रतिक्रिया