टोकियो – चालक दलका सदस्यहरूले उडानअघि मदिरा सेवन गरेको घटना पुनः दोहोरिएपछि जापान सरकारले ‘जापान एयरलाइन्स’लाई फेरि कडा चेतावनी दिएको छ । विमानका दुई परिचारिकाले उडान हुनुभन्दा १२ घण्टाअघिको प्रतिबन्धित समयमा मदिरा पिएको पुष्टि भएपछि सरकारले कम्पनीलाई सचेत गराएको हो ।
जापानको यातायात मन्त्रालयले यस घटनालाई गम्भीर सुरक्षा लापरबाही भन्दै आगामी जुलाई १७ सम्ममा यस्ता घटना रोक्न चालिने ठोस र प्रभावकारी कदमहरूको विस्तृत कार्ययोजना पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ । गत मे महिनाको अन्त्यतिर हिरोशिमाबाट टोकियोका लागि उड्नुपर्ने जेएएलको विमानका दुई परिचारिकाले उडान भर्नुअघि मदिरा सेवन गरेका थिए । तीमध्ये एकजना ‘चीफ एटेन्डेन्ट’ (मुख्य परिचारिका) थिइन् ।
उनीहरूको स्वास्थ्य परीक्षणमा अल्कोहलको मात्रा फेला परेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको थियो, जसका कारण विमान निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी मात्र उडेको थियो । जापानको नागरिक उड्डयन ऐन बमोजिम उडानअघि चालक दलका सदस्यहरूलाई मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
कम्पनीले यस घटनाप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्दै दोषी मुख्य परिचारिकालाई जागिरबाट बर्खास्त गरेको छ भने अर्की परिचारिकालाई निलम्बन गरेको छ । यति मात्र नभई, व्यवस्थापकीय कमजोरीको नैतिक जिम्मेवारी लिँदै कम्पनीका ३७ जना बोर्ड सदस्यहरूले आफ्नो भत्ता कटौती गर्ने निर्णय गरेका छन् ।
जापान एयरलाइन्समा मदिरासँग सम्बन्धित विवाद यो पहिलो भने होइन । गत वर्ष पनि एक अन्तर्राष्ट्रिय उडानका क्याप्टेनले मदिरा पिएको पाइएपछि उडानमा ठूलो ढिलाइ भएको थियो । त्यसबेला पनि मन्त्रालयले कम्पनीलाई कडा चेतावनी दिएको थियो ।








