Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – संसदीय लोकतन्त्रको सुन्दरता नै कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुनु हो । तर, पछिल्लो एक सातादेखि नेपाली संसदमा देखिएको दृश्यले यो मान्यतालाई चुनौती दिएको छ । ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को विवादास्पद अभिव्यक्तिले सल्किएको राजनीतिक डढेलो सोमवार पनि निभ्न सकेन ।

प्रधानमन्त्री आफैँ उपस्थित भएर क्षमायाचना गर्नुपर्ने विपक्षीको अडान र मन्त्रीमार्फत जबाफ पठाउने सत्तापक्षको जिद्दीका बीच संसदीय गतिरोध थप जिलिएको छ । विपक्षी दलहरूको एक साता लामो सदन अवरोध चिर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । तर, उक्त बैठकमा समाधानको सूत्र फेला पर्नुको सट्टा प्रधानमन्त्रीको ‘अनुपस्थिति’ मुख्य मुद्दा बन्यो । प्रधानमन्त्री बालेनले आफ्ना अभिव्यक्तिबारे सदनमा आफैँ उभिएर स्पष्टीकरण दिनुको सट्टा रास्वपाका सभापति लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ‘म आउँदिन’ भन्ने सन्देश पठाउनुले संसदीय सर्वोच्चताको उपहास भएको विपक्षीको आरोप छ ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय स्वाधीनता र अखण्डतासँग जोडिएको गम्भीर विषय भएको बताउँदै आएका छन् । ‘प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्चिनुपर्छ,’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा गर्जिँदै भने । परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई नै आधिकारिक मान्नुपर्ने सत्तापक्षको तर्कलाई विपक्षीले ‘रफू भर्ने’ प्रयास मात्र भएको टिप्पणी गरेका छन् ।सदनको गतिरोध अन्त्य गर्न नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले सोमवार एउटा नयाँ र मध्यमार्गी प्रस्ताव अघि सारेकी छन् । उनले सदनबाटै एउटा ‘सङ्कल्प प्रस्ताव’ पारित गरेर प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई संसदीय अभिलेख (रेकर्ड) बाट हटाउने र प्रधानमन्त्रीले क्षमायाचना गर्ने विकल्प प्रस्तुत गरिन् ।

अर्यालको प्रस्तावको सार थियो- राष्ट्रियताको सवालमा पक्ष र विपक्ष नभई सिंगो सदन एकताबद्ध भएको सन्देश जाओस् । तर, प्रधानमन्त्रीले सदनमा पाइला टेक्न नै इन्कार गरेपछि यो प्रस्तावमा पनि सत्तापक्ष र विपक्षीबीच कुरा मिल्न सकेको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको कार्यशैलीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको नियन्त्रण र सन्तुलन को व्यवस्था भत्काउन खोजेको भन्दै चिन्ता व्यक्त गरे । प्रधानन्यायाधीश नियुक्तिमा वरियता मिचिएकोदेखि कूटनीतिक मामलामा प्रधानमन्त्रीको हलुका टिप्पणीले मुलुकलाई संकटतर्फ धकेल्न सक्ने उनको विश्लेषण छ ।विशेषगरी, प्रधानमन्त्रीले संसदमा सीमा विवादबारे बोलेको भोलिपल्टै रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जानुलाई विपक्षीले अर्थपूर्ण रूपमा हेरेका छन्। एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रश्न गरे, ‘प्रधानमन्त्रीको अभिव्यक्ति र सभापतिको भ्रमणका बीच के तादम्यता थियो ? ईपीजी प्रतिवेदनबारे के कुरा भयो ?’ तर, यी प्रश्नको ठोस जबाफ न सत्तापक्षबाट आयो, न त प्रधानमन्त्रीले नै यसको भार लिने इच्छा देखाए ।

सर्वदलीय बैठकमा लामिछानेले आफ्नो भारत भ्रमण ‘सफल’ भएको ब्रिफिङ गरे पनि विपक्षी नेताहरूले उनलाई कूटनीतिक मर्यादा भुल्न नहुने सचेत गराए । लामिछानेले भारतीय पक्षसँग ‘विगतको भारी यो सरकारले बोक्दैन’ भनी दिएको अभिव्यक्तिप्रति लिङ्देनले आपत्ति जनाए । वैदेशिक मामलामा एउटा पार्टी वा सरकारको मात्र नभई राज्यको निरन्तरता हुनुपर्नेमा नयाँ दलका नेताहरूले ‘अपरिपक्व’ शैली देखाएको उनीहरूको ठहर छ ।प्रधानमन्त्रीको एउटा ‘स्लिप अफ टङ’ले संसद जस्तो गरिमामय संस्था बन्धक बन्दा दर्जनौँ विधेयक र जनचासोका मुद्दाहरू अलपत्र परेका छन् । प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नु भनेको आफ्नो साख घटाउनु होइन, बरु लोकतान्त्रिक मूल्य-मान्यतालाई बलियो बनाउनु हो । तर, ‘बालेन सरकार’को यो अडानले कतै नयाँ शक्तिहरू पनि पुरानै ‘अहंकार’ को बाटोमा त हिँड्दै छैनन् भन्ने प्रश्न उब्जाएको छ ।

विपक्षीले ‘क्षमायाचना’ भन्दा कममा सम्झौता नगर्ने र प्रधानमन्त्री ‘सदन नजाने’ अडानमा कायम रहँदा नेपाली राजनीति यतिबेला एउटा गम्भीर कूटनीतिक र संसदीय अन्योलमा फसेको छ । अबको निकास प्रधानमन्त्रीको सम्बोधन कि सदनको बलमिच्याइँ? यसको फैसला आगामी बैठकले नै गर्नेछ ।

तपाईको प्रतिक्रिया