टोकियो – एउटा गुडियालाई (आमा सम्झेर) सधैँ अँगालो मारिरहने स्वभावका कारण विश्वभर चर्चित बनेको जापानी बाँदर ‘पन्च’ को खोरमा अनाधिकृत रूपमा प्रवेश गर्ने दुई अमेरिकी नागरिकलाई जापानको एक अदालतले भारी जरिवाना गर्ने फैसला गरेको छ ।
चिबा जिल्ला सरकारी वकीलको कार्यालयका अनुसार, शुक्रबार ती दुई अमेरिकी पुरुषलाई चिडियाखानाको व्यावसायिक कार्यमा अवरोध पुर्याएको अभियोगमा जनही ३ लाख येन जरिवाना गरिएको हो । जरिवानाको रकम दुवैले भुक्तान गरिसकेको कार्यालयले जनाएको छ ।
गत मे १७ तारिखका दिन चिबा प्रान्तस्थित इचिकावा सिटी चिडियाखानामा ती दुई व्यक्तिले योजनाबद्ध रूपमा बाँदरको खोरको बार नाघेर भित्र छिरेका थिए । तीमध्ये एकजनाले कुनै एउटा ‘क्यारेक्टर’ (कार्टुन पात्र) को पोशाक लगाएका थिए र उनी खोरभित्र पसेका थिए । अर्का व्यक्तिले भने उक्त दृश्यलाई आफ्नो स्मार्टफोनमार्फत बाहिरबाट भिडियो खिचिरहेका थिए ।
चिडियाखानाको सुरक्षा नियम उल्लंघन गर्दै भाइरल हुने लोभमा गरिएको यस कार्यलाई प्रहरीले गम्भीरताका साथ लिँदै उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो । सरकारी वकीलले उनीहरूविरुद्ध ‘समरी इन्डिक्टमेन्ट’ (संक्षिप्त अभियोग) दर्ता गरेका थिए, जसअन्तर्गत औपचारिक सुनुवाइ विना नै जरिवाना तोक्न सकिन्छ ।
गत जुलाईमा जन्मिएको ‘पन्च’ नाम दिइएको उक्त जापानी ‘मकाक’ बाँदरलाई जन्मनासाथ उसकी आमाले त्यागेकी थिइन् । आमाको साटो चिडियाखानाका कर्मचारीहरूले उसलाई एउटा ओराङ्गुतुलको भुवादार गुडिया दिएका थिए । सानो बाँदरले उक्त गुडियालाई साँचो आमालाई झैँ अँगालो हालेर बसिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै लोकप्रिय भएको छ ।
चिडियाखानाले पन्चको वृद्धिविकासका बारेमा नियमित रूपमा जानकारी दिने गरेपछि उसलाई हेर्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस्तो संवेदनशील र चर्चित जनावरको खोरमा पसेर अशान्ति फैलाउनुलाई जापानी कानुनले व्यापारिक कार्यमाथिको अवरोध मान्दै सजाय सुनाएको हो ।








