
टोकियो – प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नै अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार सान फ्रान्सिस्कोमा आयोजित वार्षिक डेभलपर सम्मेलन ‘माइक्रोसफ्ट बिल्ड’ मा नयाँ एआई मोडेलहरू सार्वजनिक गर्दै ओपनएआईमाथिको निर्भरता घटाउने रणनीतिलाई थप स्पष्ट पारेको हो ।
च्याटजीपीटी निर्माता ओपनएआईमा प्रारम्भिक चरणमै ठूलो लगानी गरेको माइक्रोसफ्टले पछिल्ला केही वर्षदेखि उक्त कम्पनीको प्रविधिमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेको छ । गत वर्ष दुवै कम्पनीबीचको साझेदारी पुनःसम्झौता गरिएको थियो, जसअनुसार माइक्रोसफ्टसँग सन् २०३२ सम्मका लागि ओपनएआईको प्रविधि प्रयोग गर्ने गैर-विशेष अधिकार मात्र रहेको छ ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले कम्पनीलाई कुनै एक साझेदारमा अत्यधिक निर्भर हुन नदिने नीति दोहोर्याउँदै आएका छन् । कम्पनीका एआई विभागकी सदस्य सोफी लेब्रेक्टका अनुसार तीव्र गतिमा परिवर्तन भइरहेको एआई क्षेत्रमा आत्मनिर्भर हुनु आवश्यक छ ।
सम्मेलनमा माइक्रोसफ्टले ‘एमएआई–थिंकिङ–१’ नामक आफ्नो पहिलो ‘रिजनिङ’ मोडेल सार्वजनिक गरेको छ । यस्तो मोडेलले कुनै प्रश्नको उत्तर दिनुअघि समस्यालाई चरणबद्ध रूपमा विश्लेषण गर्ने क्षमता राख्छ । यो प्रविधि ओपनएआई, गुगल र एन्थ्रोपिकका उन्नत मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले विकास गरिएको बताइएको छ ।
माइक्रोसफ्टका अनुसार उक्त मोडेल पूर्ण रूपमा आफ्नै अनुसन्धान र विकासमार्फत तयार गरिएको हो । प्रतिस्पर्धी कम्पनीका मोडेलको नतिजा प्रयोग गरेर तालिम दिने ‘डिस्टिलेसन’ प्रविधि प्रयोग नगरिएको कम्पनीको दाबी छ ।
कम्पनीले इमेज जेनेरेसन, अडियो ट्रान्सक्रिप्सन, अडियो जेनेरेसन निर्माण तथा कोड लेख्ने क्षमतायुक्त अन्य एआई मोडेलहरू पनि सार्वजनिक गरेको छ ।
यसैबीच माइक्रोसफ्टले ‘माइक्रोसफ्ट स्काउट’ नामक नयाँ एआई सहायक पनि सार्वजनिक गरेको छ । यो एआई प्रणालीले बैठकको तयारी, समय तालिका व्यवस्थापन तथा इमेल लेखनजस्ता कार्य स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
माइक्रोसफ्टले एनभिडियाको प्रविधिमा आधारित ‘सर्फेस आरटीएक्स स्पार्क डेभ बक्स’ नामक मिनी पीसी पनि सार्वजनिक गरेको छ, जसले इन्टरनेटबिना नै एआई मोडेल सञ्चालन गर्न सक्ने क्षमता राख्छ ।
कम्पनीले घर तथा व्यक्तिगत प्रयोगका लागि आवाजमार्फत एआईसँग अन्तरक्रिया गर्न सकिने नयाँ हार्डवेयर अवधारणासमेत प्रदर्शन गरेको छ । यसमा अनुहार चिन्न सक्ने स्क्रिनयुक्त डेस्क स्पिकर र एआईसँग प्रत्यक्ष संवाद गर्न मिल्ने वेयरेबल ब्याज समावेश छन् ।
विश्लेषकहरूका अनुसार माइक्रोसफ्टको यो कदम एआई क्षेत्रमा ओपनएआईसँगको सहकार्य कायम राख्दै आफ्नै प्रविधि विकास गरेर प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ ।








