टोकियो – शक्तिशाली उष्णप्रदेशीय आँधी ‘जाङ्ग्मी’ जापानको नजिक आएसँगै मौसम विज्ञान विभागले देशको दक्षिणी र मध्य क्षेत्रमा भीषण वर्षाको ‘डेडली’ बादल अर्थात् ‘रेनब्यान्ड’ बन्न सक्ने चेतावनी दिएको छ । आँधीका कारण जनजीवन प्रभावित हुनुका साथै हवाई र रेल यातायातमा ठूलो अवरोध सिर्जना भएको छ ।
मौसमविद्हरूका अनुसार दक्षिणी क्युशु, शिकोकु, किन्की र तोकाइ क्षेत्रमा मङ्गलवारदेखि नै वर्षाको प्रभाव देखिन थालेको छ । बुधबारसम्म यो आँधी शिकोकु र होन्शुको प्रशान्त तटीय क्षेत्रमा ठोक्किने सम्भावना छ ।
बुधबार मध्याह्नसम्मको २४ घण्टामा निम्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरिएको छ:-
- तोकाइ र किन्की क्षेत्र: ३५० मिलिमिटर
- इजु टापु समूह: ३०० मिलिमिटर
- शिकोकु क्षेत्र: २५० मिलिमिटर
- उत्तरी क्युशु र कान्तो–कोशिन (टोकियोसहित): २०० मिलिमिटर
- दक्षिणी क्युशु: १८० मिलिमिटर
विशेष गरी तोकुशिमा, कोची, वाकायामा, मिए, आइची र सिजुओका प्रान्तहरूमा मङ्गलवार रातिदेखि बुधबार दिउँसोसम्म ‘रेनब्यान्ड’ विकसित भई अचानक बाढी र पहिरो जान सक्ने भन्दै अधिकारीहरूले ‘हाई-अलर्ट’ जारी गरेका छन्।
आँधीका कारण हवाई यात्रा अस्तव्यस्त बनेको छ। मङ्गलवार क्युशु क्षेत्रका ४०० भन्दा बढी उडानहरू रद्द गरिएका थिए । बुधबारका लागि पनि प्रमुख एयरलाइन्सहरूले टोकियोको हानेदा विमानस्थलसहित देशभरका ३७० भन्दा बढी उडानहरू रद्द गर्ने निर्णय गरिसकेका छन् । यात्रुहरूलाई विमानस्थल जानुअघि अनिवार्य रूपमा उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरिएको छ ।
जापानको लाइफलाइन मानिने ‘सिन्कानसेन’ (बुलेट ट्रेन) सेवा पनि आँधीको चपेटामा परेको छ ।
- तोकाइदो सिन्कानसेन: बुधबार बिहानको पहिलो रेलदेखि नै केही खण्डहरूमा सेवा स्थगित वा ढिलो हुन सक्नेछ ।
- यामागाता सिन्कानसेन: बुधबार दिउँसोदेखि साँझसम्म सेवा पूर्ण रूपमा बन्द हुन सक्ने सङ्केत दिइएको छ ।
- टोकियो क्षेत्र: इस्ट जापान रेलवेले टोकियो र आसपासका क्षेत्रमा चल्ने केही स्थानीय रेल सेवाहरू बुधबार बन्द गर्ने जनाएको छ । टोकियो मेट्रो र अन्य निजी रेल कम्पनीहरूले पनि सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
जापान मौसम विज्ञान विभागले हालै परिमार्जन गरिएको १ देखि ५ तहको विपद् सूचना प्रणालीलाई पछ्याउन र स्थानीय ‘हजार्ड म्याप’ हेरेर सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको छ । तल्लो तटीय क्षेत्र, नदी किनार र पहाडी भेगमा बस्ने बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ लाग्न निर्देशन दिइएको छ ।








