Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – कुनै पनि मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर दिने अभिव्यक्ति केवल शब्दहरूको सँगालो मात्र होइन, त्यो राज्यको आधिकारिक दस्तावेज र भविष्यको कूटनीतिक आधार पनि हो ।

तर, प्रधानमन्त्री बालेन शाहले हालै प्रतिनिधिसभामा नेपाल-भारत सीमा विवादका सन्दर्भमा दिएको ‘अपरिक्व’ र ‘विवादास्पद’ अभिव्यक्तिले नेपालको दशकौँदेखिको कूटनीतिक अडान र राजनीतिक साखमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । प्रधानमन्त्रीको बोली चिप्लिएपछि परराष्ट्र मन्त्रालयले हतार-हतार स्पष्टीकरणको जुन ‘रफू’ भर्न खोज्यो, त्यसले च्यातिएको कूटनीतिक मर्यादालाई सिलाउनुको सट्टा झन् उदाङ्गो पारिदिएको छ ।

प्रधानमन्त्री शाहले संसदमा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति नेपालको परराष्ट्र नीतिको इतिहासमै एउटा भूल सावित हुने देखिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्तो संवेदनशील क्षेत्रमा भारतले दशकौँदेखि सेना परिचालन गरेर नेपालको सार्वभौमसत्ता मिचिरहेको तथ्यलाई ओझेलमा पार्ने गरी प्रधानमन्त्रीले दिएको यो ‘बराबरीको हिस्सेदारी’ कस्तो कूटनीति हो ?

परराष्ट्र मन्त्रालयले यसलाई ‘क्रस बोर्डर अकुपेसन’ र ‘दशगजाको प्राविधिक समस्या’ भन्दै बचाउ गर्न खोजेको छ । नदीको बहाव परिवर्तन हुँदा वा खेतीपातीका क्रममा स्थानीय स्तरमा हुने जग्गाको हेरफेर र राज्यस्तरबाटै सेना परिचालन गरी गरिएको ‘अतिक्रमण’ दुई भिन्न कुरा हुन् । ३७० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग कब्जा गरेर बसेको शक्ति राष्ट्रलाई ‘हामीले पनि मिचेका छौँ’ भन्नु भनेको भारतलाई कूटनीतिक रूपमा ‘क्लिन चिट’ दिनु र नेपालको आफ्नै दाबीलाई कमजोर बनाउनु हो ।

२०१९ सालको भारत-चीन युद्धदेखि नै कालापानीमा भारतीय सैन्य उपस्थितिलाई लिएर नेपालले लामो संघर्ष गर्दै आएको छ । २०७७ सालमा अभूतपूर्व राष्ट्रिय एकताका साथ जारी गरिएको ‘चुच्चे नक्सा’ नेपालको राजकीय अठोट थियो । तर, देशको प्रधानमन्त्रीले नै ‘हामीले पनि मिचेका छौँ’ भनिदिँदा भोलि अन्तर्राष्ट्रिय मञ्चमा वा भारतसँगको वार्ताको टेबलमा नेपालको दाबी कति कमजोर होला ?भारतीय बुद्धिजीवी एसडी मुनीले प्रधानमन्त्रीको यो भनाइलाई ‘बोल्ड’ भन्दै स्वागत गर्नु र यसलाई सुस्ता विवादसँग जोड्नुले नै स्पष्ट पार्छ कि यो अभिव्यक्तिले नेपाललाई होइन, भारतलाई फाइदा पुर्‍याएको छ । भारतले अब सुस्ता जस्ता विवादित क्षेत्रमा नेपालमाथि नै दोष थोपर्न प्रधानमन्त्रीको यही भनाइलाई प्रमाणका रूपमा पेस गर्ने बलियो आधार पाएको छ ।

प्रधानमन्त्रीले सीमा विवादमा बेलायतलाई पनि सरोकारवाला बनाउनुपर्ने जुन तर्क अघि सारेका छन्, त्यसले नेपालको ‘द्विपक्षीय वार्ता’ बाट समस्या समाधान गर्ने नीतिलाई विचलित तुल्याउन सक्छ । सुगौली सन्धिताकाका ऐतिहासिक दस्तावेज र नक्साहरू प्राप्त गर्न बेलायतसँग समन्वय गर्नु एउटा प्राविधिक पक्ष हो, तर सीमा विवादमा तेस्रो पक्षलाई ‘सरोकारवाला’ बनाउन खोज्नु भूराजनीतिक दृष्टिले जोखिमपूर्ण छ ।

भारतले आफ्नो कुनै पनि छिमेकीसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नतालाई सधैँ अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको यो अपरिपक्व आग्रहले बेलायत पस्ने त सम्भावना छैन नै, बरु भारतसँगको सम्बन्धमा अनावश्यक तिक्तता र अविश्वास मात्र थप्ने निश्चित छ ।

प्रधानमन्त्री बालेन शाहको पृष्ठभूमि र उनको शैलीले कतिपयलाई हौस्याए पनि राज्यको कार्यकारी पदमा बस्दा ‘पपुलिजम’भन्दा ‘प्रुडेन्स’को खाँचो हुन्छ। संसदको रोस्ट्रममा उभिएर बोल्दा शब्द-शब्दको तौल हुनुपर्छ । तर, उनले सीमा जस्तो गम्भीर विषयलाई ‘साथीभाइबीचको लेनदेन’ जस्तो गरी सतही रूपमा व्याख्या गरिदिए । परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले रातभरि जागै बसेर निकालेको विज्ञप्तिले प्रधानमन्त्रीको ‘चिप्ल्याइ’ लाई ढाकछोप गर्ने प्रयास त गर्‍यो, तर कूटनीतिक जगतमा ‘एक पटक बोलेको कुरा फिर्ता हुँदैन’ भन्ने मान्यता छ। प्रधानमन्त्रीको बोलीले जुन क्षति पुर्‍याइसकेको छ, त्यसलाई परराष्ट्रको सानो विज्ञप्तिले ‘रफू’ भर्न सक्दैन ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति केवल एउटा भनाइ मात्र होइन, यो नेपालको कूटनीतिक पराजयको एउटा सानो झिल्को हुन सक्छ । छिमेकीसँगको सीमा विवादलाई भावना र सतही ज्ञानका आधारमा होइन, ऐतिहासिक तथ्य र कूटनीतिक मर्यादाका आधारमा डिल गरिनुपर्छ । राष्ट्रको सीमा र सार्वभौमसत्ता ‘र्‍याप ब्याटल’ को विषय होइन । यदि देशको कार्यकारी प्रमुख नै आफ्नो देशको सीमा र छिमेकीको अतिक्रमणबारे यतिविघ्न अन्योलमा छन् भने, भोलिको नेपालको भूगोल कुन दिशातिर जाला ?

तपाईको प्रतिक्रिया