
टोकियो – जापानमा जुन महिनादेखि एक हजारभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ । मे महिनामा ८४ वस्तुको मात्र मूल्य वृद्धि भएकोमा जुनमा यो संख्या बढेर १,०७८ पुग्ने देखिएको हो ।
अनुसन्धान संस्था टेकोकु डाटाबैंक लिमिटेडका अनुसार मध्यपूर्वमा जारी तनावका कारण उत्पादन लागत बढेपछि कम्पनीहरूले त्यसको भार उपभोक्तामाथि थोपर्न थालेका छन् । संस्थाले यस वर्षभर मूल्य बढ्ने खाद्य तथा पेय पदार्थको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरेको छ ।
संस्थाका एक अधिकारीले गर्मी यामपछि पनि मूल्यवृद्धिको लहर व्यापक रूपमा जारी रहने बताएका छन् ।
प्रतिवेदनअनुसार मे महिनाको अन्त्यसम्म मूल्यवृद्धि हुने वस्तुमध्ये २२.७ प्रतिशत वस्तु इरान युद्धको प्रभावमा परेका छन् । फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको तनावका कारण नाफ्थाको आपूर्ति प्रभावित भएको जनाइएको छ ।
नाफ्था पेट्रोलियमजन्य कच्चा पदार्थ हो, जुन खाद्य सामग्रीको प्लास्टिक प्याकेजिङलगायत विभिन्न रासायनिक उत्पादनमा प्रयोग गरिन्छ । यसको आपूर्तिमा समस्या आउँदा प्याकेजिङ तथा उत्पादन लागत बढेको हो ।
जुन महिनामा मूल्य बढ्ने वस्तुमध्ये सबैभन्दा धेरै मसला तथा सिजनिङ समूहका छन् । यो समूहका ४५० वस्तुको मूल्य बढ्नेछ। त्यसपछि इन्स्ट्यान्ट चाउचाउलगायत प्रशोधित खाद्य पदार्थका ३०४ वस्तु महँगिनेछन् ।
अक्टोबरसम्म मूल्य बढ्ने निश्चित भइसकेका वस्तुहरू समेत जोड्दा यस वर्ष हालसम्म ९,३६१ खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने देखिएको छ ।
यदि यो संख्या १० हजार नाघेमा सन् २०२२ यता लगातार पाँचौं वर्ष जापानमा १० हजारभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य बढेको वर्ष बन्नेछ ।








