टोकियो – जापानमा पर्यटकका रूपमा आएकी एक १७ वर्षीया ताइवानी छात्रा ६० लाख येन ठगी गरेको र सो रकम लुकाएको आरोपमा पक्राउ परेकी छिन् । फुकुओका प्रान्तकी एक ८३ वर्षीया वृद्धालाई नक्कली प्रहरी बनेर ठग्ने गिरोहसँग मिलेर उनले सो कार्य गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती वृद्धालाई गिरोहका अन्य सदस्यले फोनमार्फत आफू प्रहरी अधिकारी भएको भन्दै झुक्याएर ६० लाख येन असुल गरेका थिए । पक्राउ परेकी उच्च माध्यमिक विद्यालयकी ती छात्राले अप्रिल १५ का दिन साइतामा प्रान्तको तोदास्थित एक कन्भिनियन्स स्टोरको महिला शौचालयमा सो रकम राखिएको खाम लुकाएको अभियोग छ । उनले सङ्गठित अपराध र ‘क्राइम प्रोसिड्स’ नियन्त्रण ऐनको उल्लंघन गरेको प्रहरीको ठहर छ ।
ती छात्रा गत मार्चको अन्त्यतिर छोटो अवधिको ‘सर्ट-स्टे’ भिसामा जापान प्रवेश गरेकी थिइन् । प्रहरीले यसलाई ‘हिट-एन्ड-अवे’ शैलीको अपरेसन भएको आशङ्का गरेको छ । यस शैलीमा अपराधीहरू थोरै समयका लागि जापान आउने, ठगी वा अन्य अपराधमा संलग्न हुने र लगत्तै स्वदेश फर्कने गर्दछन् ।
फुकुओका प्रान्तीय प्रहरीका अनुसार ती किशोरीले आफ्ना मुख्य योजनाकारबाट निर्देशन पाएकी थिइन्। उनले फुकुओकामा पैसा सङ्कलन गरेपछि बुलेट ट्रेन (सिन्कानसेन) चढेर साइतामा पुगेकी थिइन् । उनलाई सुरुमा अर्कै प्रान्तको प्रहरीले नियन्त्रणमा लिएको थियो भने पछि मे ८ मा फुकुओका प्रहरीले ठगीको आशङ्कामा औपचारिक रूपमा पक्राउ गरेको थियो । मे २८ मा उनलाई पैसा लुकाएको थप अभियोगमा पुनः पक्राउ गरिएको हो ।
प्रहरीसँगको बयानमा ती किशोरीले शौचालयमा खाम लुकाएको कुरा स्वीकार गरेकी छिन् । यद्यपि, उनले आफ्नो बचाउ गर्दै भनेकी छिन्, ‘मैले खाम लुकाएको त हो, तर मलाई यो ठगीको पैसा हो भन्ने थाहा थिएन ।’








