
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको दैनिक जीवनसँग जोड्न शासन प्रणालीसँगै राजनीतिक नेतृत्वको सोच, व्यवहार र कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।
गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन ऐतिहासिक उपलब्धि भए पनि त्यसको वास्तविक अर्थ जनताले सेवा, अवसर, न्याय र समृद्धिमा अनुभूति गर्न पाउनुपर्ने बताए।
राष्ट्रपति पौडेलका अनुसार मुलुकले अब केवल व्यवस्था परिवर्तनको चर्चा गरेर मात्र अघि बढ्न सक्दैन। जनअपेक्षा पूरा गर्न राजनीतिक दल र नेतृत्व थप जिम्मेवार, सिर्जनशील, नम्र र नागरिकप्रति उत्तरदायी बन्नुपर्ने उनको भनाइ थियो।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र आर्थिक पुनरुत्थानलाई राज्य सञ्चालनको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। देशमा उपलब्ध प्राकृतिक, मानवीय र आर्थिक स्रोतको सही उपयोग गर्न सके कृषि, पर्यटन, ऊर्जा, उद्योग र सेवा क्षेत्रलाई बलियो बनाउन सकिने उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले शासन व्यवस्थाको सफलता नागरिकको जीवनस्तरमा देखिने परिवर्तनबाट मात्रै मापन हुने बताए। आर्थिक विकास, रोजगारी सिर्जना, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँदै गणतन्त्रप्रति जनविश्वास बढाउनुपर्ने उनको धारणा थियो।
उनले गणतन्त्रले नागरिकलाई आफ्नो भाषा, संस्कृति, पहिचान र भूमिप्रति स्वामित्वको अनुभूति गराएको बताउँदै त्यसलाई राष्ट्र निर्माणको प्रेरणाका रूपमा लिनुपर्ने उल्लेख गरे।








