Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – एउटा भ्यानबाट करिब ३ करोड ४० लाख येन (३४ मिलियन येन) मूल्य बराबरका ३०६ थान ‘पोकेमोन कार्ड’ चोरी गरेको आरोपमा टोकियो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा साइतामा प्रान्तको कावागुची सहरका २७ वर्षीय कम्पनी कर्मचारी ताचुकी होसोया र कोसिगाया सहरका २६ वर्षीय बेरोजगार कोता कोबायासी रहेका छन् । एफएनएन न्युजका अनुसार उनीहरूले गत डिसेम्बरमा टोकियोको चियोदा वार्डमा पार्किङ गरी राखिएको भ्यानबाट ती बहुमूल्य कार्डहरू चोरेका थिए ।

प्रहरी अनुसन्धानका अनुसार ती दुई व्यक्तिले ट्रेडिङ कार्डहरू सङ्कलन गर्दै विभिन्न पसलमा रोकिरहेको उक्त डेलिभरी भ्यानलाई सुरुदेखि नै पछ्याइरहेका थिए । जब चालक कार्डहरू लिन एक पसलभित्र छिरे र गाडी लक गरे, त्यही मौका छोपी कोबायासीले आफूसँग भएको ‘स्पेयर की’ (अतिरिक्त साँचो) प्रयोग गरी गाडी खोलेर लुटपाट मच्चाएका थिए ।

रोचक कुरा के छ भने, कोबायासी त्यस समयमा सोही डेलिभरी कम्पनीमा कार्यरत थिए। उनले कम्पनीको साँचोको दुरुपयोग गरी यो योजनाबद्ध चोरी गरेका हुन् । उनले चोरी गरेको केही समयपछि अर्थात् डिसेम्बरको अन्त्यतिर मात्रै सो कम्पनीबाट जागिर छाडेका थिए ।

प्रहरीले अभियुक्तहरूले चोरेका मध्ये केही कार्डहरू साइतामा प्रान्तको एक ‘बायब्याक’ पसलमा बिक्री गरिसकेको फेला पारेको छ । ती कार्डहरू बेचेर उनीहरूले करिब ५० लाख येन आम्दानी गरेको पाइएको छ । जापानमा पछिल्लो समय पोकेमोन कार्डहरूको सङ्कलन र यसको पुन:विक्री मूल्य अत्यधिक बढेका कारण यस्ता कार्डहरू लक्षित चोरीका घटनाहरूमा वृद्धि भइरहेको छ । प्रहरीले बाँकी कार्डहरूको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया