काठमाडौँ – विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, सहयोग, खोज तथा उद्धारलाई अझ सहज र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप ‘मोफा मित्र’ सार्वजनिक गरेको छ। कन्सुलर सेवा विभागले विकास गरेको उक्त एप मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
मन्त्रालयका अनुसार यो एप सञ्चालनमा आएपछि विदेशमा समस्या परेका वा उद्धारको आवश्यकता भएका नेपालीले सिधै कन्सुलर सेवा विभाग वा सम्बन्धित देशस्थित नेपाली दूतावासमा आफ्नो समस्या दर्ता गर्न सक्नेछन्। यस प्रणालीले कन्सुलर सेवालाई छिटो, पारदर्शी र सर्वसुलभ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीलाई आवश्यक सहायता र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउन यो एप उपयोगी हुने अपेक्षा गरेको छ।








