Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको सबैभन्दा पुरानो र चर्चित व्यावसायिक बेसबल टोली ‘योमीउरी जायन्ट्स’ का मुख्य प्रशिक्षक (म्यानेजर) शिन्जोसुके आबेले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नै छोरीसँगको घरयासी विवादमा प्रहरीले पक्राउ गरेपछि उनले ‘जायन्ट्सको गर्विलो परम्परामा आँच पुर्‍याएको’ भन्दै राजीनामा दिएका हुन् ।

अनुसन्धान स्रोतका अनुसार ४७ वर्षीय आबेले टोकियोको सिबुयास्थित आफ्नै घरमा १८ वर्षीया छोरीलाई समातेर भुइँमा पछारेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । दुई छोरीहरूबीच भइरहेको झगडामा मध्यस्थता गर्न खोज्दा रिसको झोँकमा उनले छोरीमाथि बल प्रयोग गरेको स्वीकार गरेका छन् । घटनाको समयमा आबे मदिराको नशामा रहेको विश्वास गरिएको छ ।

प्रहरीका अनुसार छोरीलाई कुनै चोटपटक लागेको छैन र आबेलाई मंगलबार बिहानै रिहा गरिएको छ । यस घटनामा एउटा रोचक पक्ष बाहिर आएको छ । छोरीले आफ्ना पिताको व्यवहारका बारेमा आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘च्याट जीपीटी’ सँग परामर्श गरेपछि मात्र बाल मार्गदर्शन केन्द्रमा उजुरी दिएकी थिइन् । त्यसलगत्तै केन्द्रले प्रहरीलाई खबर गरेको थियो ।

राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा निकै थकित र भावुक देखिएका आबेले आँसु पुछ्दै भने, ‘आफ्नो पारिवारिक समस्याका कारण मैले बेसबल प्रशंसक, व्यावसायिक बेसबलसँग जोडिएका व्यक्ति र संस्थालाई ठूलो चिन्ता र असुविधा पुर्‍याएको छु । म हृदयदेखि नै क्षमा चाहन्छु ।’

जायन्ट्सका मालिक तोशिकाजु यामागूचीले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक कार्यलाई गम्भीर रूपमा लिइएको र उनी म्यानेजरको पदमा रहिरहन अनुपयुक्त ठहर गरिएको बताएका छन् । टोलीको रिक्त मुख्य प्रशिक्षकको जिम्मेवारी हालका लागि ‘ओफेन्सिभ चिफ कोच’ हिदेकी हासिगामीलाई दिइएको छ ।

आबेसँगै पत्रकार सम्मेलनमा उपस्थित प्रतिनिधिले छोरीको पत्र पढेर सुनाएका थिए, जसमा उनले पिताले आफूलाई कुटपिट वा लात्ती प्रहार नगरेको स्पष्ट पारेकी छि न्। उनले भनिन्, ‘प्रहरीले बुबालाई पक्राउ गर्ला भन्ने मैले सोचेकी थिइनँ, उहाँलाई समातेर लैजाँदा म निकै रोएँ ।’ उनले आफ्नो र बुबाबीच मेलमिलाप भइसकेको भन्दै थप चिन्ता नगर्न आग्रह समेत गरेकी छिन् ।

जापानी बेसबलमा आबेको स्थान निकै उच्च छ । सन् २००० बाट खेल जीवन सुरु गरेका उनी १९ वर्षसम्म जायन्ट्सको भरपर्दो ‘क्याचर’ का रूपमा चिनिए । उनले आफ्नो खेल जीवनमा २,१३२ हिट्स र ४०६ होम रन प्रहार गरेका छन् । सन् २०१९ मा संन्यास लिएपछि उनी प्रशिक्षकका रूपमा सक्रिय थिए र सन् २०२४ को सिजनदेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । आबेको नेतृत्वमा जायन्ट्सले पहिलो सिजनमै सेन्ट्रल लिगको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया