काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। पर्सा प्रहरीले सोमबार प्रतिवेदन बुझाएको जनाएको छ। प्रसाईंलाई जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको छ।
अनुसन्धानका क्रममा विभिन्न युट्युब च्यानलमा दिएका अभिव्यक्ति र वीरगन्जमा गरेका सम्बोधनलाई आधार बनाइएको प्रहरीले जनाएको छ। प्रसाईंले महिलामाथि अपमानजनक टिप्पणी गरेको तथा सेना र प्रहरीजस्ता राज्यका निकायबारे होच्याउने अभिव्यक्ति दिएको आरोप अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै, उनले एक अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क सम्पाङ एउटै समूहद्वारा परिचालित रहेको दाबी गरेका थिए। हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा बालेन्द्र शाह आए उनको तस्वीर घरमा राख्ने टिप्पणी पनि उनले गरेका थिए।
प्रसाईं वीरगन्जमा गहवा माई मन्दिर दर्शन तथा स्थानीय कार्यक्रमलाई सम्बोधन गर्न पुगेका बेला पक्राउ परेका थिए। यसबीच सर्वोच्च अदालतले उनलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको पनि समाचारमा उल्लेख छ।








