
काठमाडौँ – व्यङ्ग्यात्मक राजनीतिक अभियानका रूपमा चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को एक्स अकाउन्ट भारतमा रोक्का गरिएको छ। इन्स्टाग्राममा फलोअर्स संख्यामा भारतीय जनता पार्टी (भाजपा) लाई पछि पारेको केही घण्टामै उक्त अकाउन्ट बन्द गरिएको हो।
सीजेपीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जालमार्फत अकाउन्ट भारतमा प्रतिबन्धित भएको जानकारी दिएका छन्। रोक्का हुनुअघि सीजेपीको एक्स अकाउन्टमा २ लाखभन्दा बढी फलोअर्स थिए। यसलाई लेखक अरुन्धती रोय, अधिवक्ता प्रशान्त भूषण, युट्युबर ध्रुव राठी र कमेडियन कुणाल कामराजस्ता चर्चित व्यक्तित्वहरूले फलो गरेका थिए।
गत साता सुरु भएको यो अनलाइन अभियानले छोटो समयमै व्यापक चर्चा कमाएको थियो। भारतमा एक्स अकाउन्ट बन्द भए पनि यसको इन्स्टाग्राम पेज भने अझै सक्रिय छ। हाल उक्त पेजमा १ करोड ३० लाखभन्दा बढी फलोअर्स पुगेका छन्, जबकि भाजपाको इन्स्टाग्राममा करिब ८७ लाख फलोअर्स छन्। सीजेपीले निकै कम पोस्टमार्फत ठूलो लोकप्रियता हासिल गरेको छ।








