Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको धज्जी उडाउँदै जापानमा एक बस चालकले यात्राकै क्रममा स्मार्टफोनमा भिडियो हेर्ने गरेको खुलासा भएको छ । ह्योगो प्रान्तको याबु शहरमा मुख्यालय रहेको ‘जेन्तान बस’ कम्पनीले शुक्रबार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै आफ्ना चालकबाट भएको यस्तो गम्भीर लापरवाहीप्रति क्षमायाचना गरेको छ ।

कम्पनीका अनुसार यो घटना गत अप्रिल ३० तारिखको हो । तोयोओका कार्यालयमा कार्यरत एक करारका पुरुष चालकले तोयोओका स्टेशनबाट ताजिमा कृषि उच्च माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बस चलाउने क्रममा आफ्नो सिट नजिकै स्मार्टफोन राखेर भिडियो हेरिरहेका थिए । उनले बस गुडिरहेकै बेला पटक–पटक मोबाइलको स्क्रिनमा हेर्ने गरेको पाइएको छ ।

उक्त बसमा यात्रा गरिरहेका एक यात्रीका आफन्तले कम्पनीलाई यसबारे जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । प्रारम्भिक उजुरीपछि कम्पनीले गरेको आन्तरिक छानबिनका क्रममा ती चालकले यसअघि पनि पटक–पटक बस चलाउँदै गर्दा भिडियो हेर्ने गरेको पुष्टि भएको छ । यात्रुहरूको सुरक्षालाई जोखिममा राखेर गरिएको यस्तो गैरजिम्मेवारपूर्ण व्यवहारलाई कम्पनीले गम्भीरतापूर्वक लिएको बताएको छ ।

कम्पनीले ती चालकलाई तत्काल प्रभाव रहने गरी सेवाबाट निलम्बन गरेको  छ। ‘हामी ती चालकमाथि गरिने कारबाहीका विषयमा थप अध्ययन गरिरहेका छौँ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जेन्तान बस प्रशासनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई पुनः प्रशिक्षित गर्ने र नियमहरूको कडाइका साथ पालना गराउने प्रतिबद्धता जनाएको छ । ‘यात्रुहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। यस्तो असुरक्षित व्यवहारलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन,’ कम्पनीले भनेको छ ।

तपाईको प्रतिक्रिया