Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको राजधानी टोकियोको अति विलासी क्षेत्रमा एक कम्बोडियन नागरिकताधारी चिनियाँ अर्बपतिले जग्गा खरिद गरे । टोकियोको सुगिनामी वार्डस्थित जेन्फुकुजीमा रहेको उक्त जग्गाको मूल्य मात्रै ८० करोड येनभन्दा बढी थियो ।

परिवारसँग बस्नका लागि भन्दै उनले कुनै ऋण नलिई एकमुष्ट नगद तिरेर उक्त सम्पत्ति आफ्नो नाममा गराए । तर, अचम्मको कुरा के छ भने, खरिद गरेको एक महिना पुग्दा नपुग्दै उनले उक्त सम्पत्ति अर्का एक चिनियाँ नागरिकलाई बिक्री गरे । ‘परिवार बस्ने’ भनी गरिएको दाबी केवल एउटा बहाना र ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण) को एउटा हिस्सा मात्र थियो ।

खोजविनका क्रममा ती व्यक्ति कम्बोडियामा रहेको चिनियाँ मूलको विशाल व्यापारिक घराना ‘प्रिन्स होल्डिङ ग्रुप’का सदस्य भएको खुलेको छ । यो त्यही समूह हो जसलाई अमेरिका र बेलायत सरकारले अनलाइन ठगी, मानव बेचबिखन र साइबर अपराधमा संलग्न “एशियाकै ठूलो आपराधिक संगठन” को रूपमा कालो सूचीमा राखेका छन् ।

जापानको घरजग्गा क्षेत्रमा लामो समयदेखि एउटा चर्चा चल्ने गरेको थियो- ‘प्रिन्स ग्रुपले जापानमा महँगा सम्पत्तिहरू आक्रामक रूपमा खरिद गरिरहेको छ, किनकि उनीहरूका लागि जापान सुरक्षित आश्रयस्थल बनेको छ ।’ अनुसन्धानले देखाएको छ कि यो समूहले जापानी समाजमा सोचेभन्दा निकै गहिरो गरी जरा गाडिसकेको छ ।

कम्बोडियामा मुख्यालय रहेको प्रिन्स ग्रुपले विगत १० वर्षमा अवैध अनलाइन क्यासिनो र ठगीबाट अर्बौँ डलर आर्जन गरी कम्बोडियाको सबैभन्दा ठूलो कम्पनीको रूपमा आफूलाई स्थापित गरेको थियो । यसले बैंक, रियलस्टेट र लगानी कोषहरू सञ्चालन गरी वैध कम्पनीको आवरणमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो ।

तर, सन् २०२५ अक्टोबर १४ मा अमेरिका र बेलायतले यस समूहमाथि आर्थिक प्रतिबन्ध लगाएपछि यसको पतन सुरु भयो । ताइवान, हङकङ, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्ड जस्ता देशहरूले पनि यस समूहको सम्पत्ति जफत र छापा मार्न सुरु गरे । सन् २०२६ को जनवरीमा समूहका अध्यक्ष चेन झीलाई कम्बोडियाली अधिकारीहरूले पक्राउ गरी चीनलाई सुपुर्दगी गरे । यससँगै समूहको मुख्य खम्बा मानिने ‘प्रिन्स बैंक’ पनि विघटन भएको छ । यद्यपि, समूहका अन्य उच्च अधिकारीहरू कहाँ छन् र अध्यक्ष चेन झीको चीनमा अहिलेको अवस्था कस्तो छ भन्ने कुरा अझै रहस्यकै गर्भमा छ ।

रिपोर्टका अनुसार प्रिन्स ग्रुपले जापानमा तीनवटा भगिनी कम्पनीहरू स्थापना गरिसकेको थियो । अध्यक्ष चेन झीले टोकियोको विलासी क्षेत्र किता-आयोयामाको एउटा महँगो अपार्टमेन्टमा आफ्नो आधिकारिक ठेगाना दर्ता गराएको समेत फेला परेको छ ।

जापानमा अवैध धनको लगानी र आपराधिक सञ्जालको विस्तारले सुरक्षा निकायहरूका लागि ठूलो चुनौती थपिदिएको छ । एउटा आपराधिक संगठनले कसरी कानुनी छिद्रहरूको प्रयोग गरी जापानको रियलस्टेट बजारलाई आफ्नो ‘सुरक्षित भण्डार’ बनाइरहेको छ भन्ने तथ्यले अहिले जापानी सञ्चारमाध्यमहरूमा तरंग पैदा गरेको छ ।

तपाईको प्रतिक्रिया