टोकियो – जापानको राजधानीको मुटुमा रहेको ऐतिहासिक र गौरवमय संरचना ‘नेशनल डाइट बिल्डिङ’ (संसद भवन) को ९० वर्षको इतिहासमा पहिलोपटक व्यापक पुनर्निर्माण र मर्मत गरिने भएको छ । भूकम्पको उच्च जोखिममा रहेको जापानमा यस पुरानो संरचनाको सुरक्षालाई लिएर चिन्ता बढेपछि सरकारले यो ठूलो कदम चाल्न लागेको हो ।
अधिकारीहरूका अनुसार निर्माण कार्य सन् २०३० देखि सुरु हुनेछ र करिब आठ वर्षसम्म चल्नेछ। यस परियोजनाको कुल लागत ६० देखि ७० अर्ब येन अनुमान गरिएको छ । निर्माण सामग्रीको बढ्दो मूल्यका कारण यो लागत अझै बढ्न सक्ने सम्भावना छ ।
पुनर्निर्माणका क्रममा भवनको जगमुनि ‘सिस्मिक आइसोलेशन लेयर’ (भूकम्पको धक्का सोस्ने आधुनिक प्रविधि) जडान गरिनेछ । यो प्रविधिको विशेषता के हो भने, मर्मत कार्य भइरहँदा पनि संसदको कामकारबाही रोकिने छैन र भवनलाई नियमित प्रयोगमा ल्याउन सकिनेछ । यसका साथै, भवनको पिरामिड आकारको छाना, ग्रेनाइटको बाहिरी भाग र भित्री ऐतिहासिक कलाकृतिहरूलाई सुरक्षित राख्दै यसको मौलिक स्वरूपलाई यथावत राखिनेछ ।
सन् १९३६ मा १७ वर्षको लामो निर्माण कार्यपछि यो भवन सम्पन्न भएको थियो। सुदृढ कङ्क्रिटबाट बनेको यस भवनमा तीन तला जमिनमाथि र एक तला जमिनमुनि रहेका छन् । ५३,४६० वर्गमिटर क्षेत्रफलमा फैलिएको यस संरचनामा जापानका दुवै सदन (तल्लो र माथिल्लो) का बैठक कक्षहरू रहेका छन् ।
भवनको ६५ मिटर अग्लो नौतले केन्द्रीय टावर र त्यसको गुम्बजमुनि रहेका झ्यालहरू र सिलिङलाई ‘स्टेन्ड ग्लास’ ले सजाइएको छ । सम्राटले भ्रमणका क्रममा प्रयोग गर्ने कोठा पूर्णतया जापानी सल्लाको काठ र उत्कृष्ट लाहाबाट बनाइएको छ, जसलाई ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ ।
सन् १९८१ को निरीक्षणले यो भवन तत्कालीन मापदण्ड अनुसार सुरक्षित रहेको देखाएको थियो । तर, सन् २०१९ मा विज्ञहरूको टोलीले संरचना पुरानो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेपछि पुनः परीक्षण गरिएको थियो । सन् २०२३ को एक प्रतिवेदनले भवनको स्टील फ्रेमहरू बाङ्गिन थालेको र यसबाट वस्तुहरू खस्न सक्ने जोखिम रहेको चेतावनी दिएको थियो ।








