टोकियो – ओसाका-कान्साई एक्स्पोमा प्रयोग गरिएका विद्युतीय बसहरूमा बारम्बार प्राविधिक समस्या देखिएपछि ‘ओसाका मेट्रो’ ले कडा कदम चालेको छ । मेट्रोले बस आपूर्ति गर्ने कम्पनी ‘ईभी मोटर्स जापान’लाई ९.६ अर्ब येन भुक्तानी गर्न माग गर्दै सम्झौता खारेजीको सूचना पठाएको छ ।
यद्यपि, बस निर्माता कम्पनीले भने उक्त दाबीलाई अस्वीकार गर्दै सम्झौता खारेजीको कुनै कानुनी आधार नभएको तर्क गरेको छ । ओसाका मेट्रोको शतप्रतिशत शेयर ओगटेको ओसाका महानगरपालिकाका मेयर हिदेयुकी योकोयामाले मेट्रोको यस कदमलाई पूर्ण समर्थन गरेका छन् । मेयर योकोयामाले भने, ‘सुरक्षामा जोखिम छ भन्ने जान्दाजान्दै दुर्घटना हुनु वा जोखिम मोल्नु बिल्कुलै अक्षम्य कुरा हो । ओसाका मेट्रोले आफ्नो रकम फिर्ता पाउन कडा मेहनत गर्नुपर्छ ।’
एक्स्पो अवधिभर १४८ वटा विद्युतीय बस उपलब्ध गराएको कम्पनी भित्रको व्यवस्थापन निकै कमजोर रहेको तथ्यहरू बाहिर आएका छन् । कम्पनी सम्बद्ध स्रोतका अनुसार, ‘बसहरूमा यति धेरै खराबी थिए कि जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था थियो ।’
ओसाका मेट्रोले पठाएको सम्झौता खारेजी पत्रमा बसहरूको सुरक्षामा गम्भीर शंका व्यक्त गरिएको छ । पत्रमा भनिएको छ, ‘चार्ज नै नहुने जस्ता आधारभूत समस्याहरू बारम्बार दोहोरिएका छन् । उत्पादनदेखि आपूर्तिसम्मको प्रक्रियामै त्रुटी देखिन्छ । यस्तो अवस्थामा कम्पनीले ‘सुरक्षामा समस्या छैन’ भनी गरेको दाबीलाई वस्तुगत रूपमा पत्याउन सकिने आधार छैन ।’
अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार एक्स्पोको समयमा बस चलाउने ड्राइभरहरूले प्रत्येक दिन ‘युद्ध लडे जस्तो’ तनावपूर्ण स्थितिमा काम गर्नुपरेको थियो । ‘बस र चार्जरबीच कुनै तालमेल थिएन । एउटा बसको चार्जर अर्कोमा नमिल्ने र अन्य कम्पनीका चार्जरले कामै नगर्ने जस्ता समस्याले अपरेसनमा ठूलो बाधा पुगेको थियो,’ अटो पत्रकार कुमिको कातोले बताइन् ।
ओसाका मेट्रोले अप्रिल १ मा सम्झौता खारेजीको सूचना पठाएपछि, EVMJ ले आफ्नो कुल ऋण ५.७ अर्ब येन पुगेको भन्दै ‘सिभिल रिह्याबिलिटेसन’ (टाट पल्टिएपछि पुनःस्थापनाको कानुनी प्रक्रिया) मा जाने घोषणा गरेको छ ।








