काठमाडौँ – काठमाडौँको आसन क्षेत्रबाट चोरी भएर अमेरिका पुगेको बुद्धको प्राचीन मूर्ति अन्ततः पुनः आफ्नै स्थानमा फर्काइएको छ। काठमाडौं महानगरपालिका-२३ अन्तर्गत जोरगणेश ओम बहालस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट हराएको उक्त मूर्ति बुद्ध जयन्तीको अवसरमा पुनःस्थापना गरिएको हो।
यो मूर्ति २०७८ फागुनमा नै नेपाल फर्काइएको थियो। चोरीपछि अमेरिका पुगेको मूर्ति न्यूयोर्क स्थित टिबेट हाउस कलेक्सनमा रहेको अवस्थामा फेला परेको थियो। त्यसपछि पुरातत्व विभाग र सम्पदा संरक्षणमा सक्रिय समूहहरूको पहलमा नेपाल ल्याएर राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको थियो।
मूर्तिलाई मूल स्थानमै फर्काउन महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्रसरता देखाएकी थिइन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी संग्रहालयबाट मूर्ति हस्तान्तरण गरिएको हो। पछि बाजागाजासहित मूर्तिलाई हनुमानढोका बाट विहारसम्म ल्याएर धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको छ।








