टोकियो – जापानका १० देखि १९ वर्ष उमेर समूहका करिब ७ प्रतिशत किशोरकिशोरीहरू सामाजिक सञ्जालको गम्भीर लतमा परेको एक पछिल्लो अध्ययनले देखाएको छ । एक मेडिकल इन्स्टिच्युटले गरेको सर्वेक्षण अनुसार, यो उमेर समूहका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा यति आश्रित छन् कि उनीहरूले चाहेर पनि आफ्नो ‘स्क्रिन टाइम’ घटाउन सकिरहेका छैनन् ।
‘नेशनल हस्पिटल अर्गनाइजेशन कुरीहामा मेडिकल एण्ड एडिक्सन सेन्टर’ ले देशभर गरेका सर्वेक्षणले १०-१९ वर्ष उमेर समूहमा सामाजिक सञ्जालको लत सबैभन्दा उच्च रहेको फेला पारेको छ । अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोग र बालबालिकामा देखिने मानसिक स्वास्थ्य समस्या तथा आपराधिक क्रियाकलापबीच सम्बन्ध हुन सक्ने सङ्केत गरेको छ।
उमेर समूह अनुसार लतको अवस्था:-
- १० देखि १९ वर्ष: ७ प्रतिशत
- २० देखि २९ वर्ष: ४.७ प्रतिशत
- ३० देखि ३९ वर्ष: १.१ प्रतिशत
- ४० देखि ४९ वर्ष: ०.८ प्रतिशत
- ५० देखि ५९ वर्ष: ०.६ प्रतिशत
तथ्याङ्क अनुसार, उमेर बढ्दै जाँदा सामाजिक सञ्जालको लत घट्दै गएको देखिन्छ । सन् २०२५ को जनवरी र फेब्रुअरीमा ४०० विभिन्न स्थानका ४,६५० जनामा गरिएको यो सर्वेक्षणमा ९ वटा मुख्य प्रश्नहरू सोधिएको थियो । जसमा ‘के तपाईंले सामाजिक सञ्जालको प्रयोग घटाउने प्रयास गर्दा असफल हुनुभएको छ ?’ र ‘तपाईंले सामाजिक सञ्जालमा कति समय बिताउनुहुन्छ भन्नेबारे परिवार वा साथीभाइसँग झूट बोल्नुभएको छ ?’ जस्ता प्रश्नहरू थिए। कम्तीमा ५ वटा प्रश्नको सकारात्मक जवाफ दिनेहरूलाई ‘गम्भीर लत’ भएको श्रेणीमा राखिएको छ ।
गम्भीर लत भएकाहरूमध्ये ३० प्रतिशतले सामान्य दिनहरूमा ६ घण्टा वा सोभन्दा बढी समय अनलाइनमा बिताउने गरेका छन् भने बिदाका दिनमा यो सङ्ख्या ६२ प्रतिशत पुग्ने गरेको छ । बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अष्ट्रेलिया र इन्डोनेसिया जस्ता देशहरूले १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरिसकेका छन् । जापानमा पनि आन्तरिक मामिला मन्त्रालय र बालबालिका तथा परिवार एजेन्सीले यस समस्यालाई सम्बोधन गर्न आवश्यक नीतिबारे छलफल गरिरहेका छन् ।
कुरीहामा मेडिकल सेन्टरले अभिभावकहरूलाई बालबालिकाको हातमा स्मार्टफोन थमाउनु अगाडि नै प्रयोगको समय र स्थानबारे स्पष्ट नियम बनाउन सुझाव दिएको छ । नियम उल्लंघन गरेमा हुने सजायबारे पनि पहिल्यै जानकारी दिनुपर्ने र सबैभन्दा महत्वपूर्ण कुरा, अभिभावकहरू आफैँले मोबाइलको कम प्रयोग गरेर सन्तानका लागि ‘राम्रो उदाहरण’ बन्नुपर्ने विज्ञहरूको भनाइ छ ।








