सुजुकी र यामादा दुईजना मिल्ने छिमेकी थिए र उमेर पनि करिब-करिब उस्तै भएकाले साथीजस्तै थिए । दुई-चार महिनापछि सुजुकीजीले कम्पनीमा सँगै काम गर्ने एक राम्री युवतीसँग विवाह गरे । श्रीमती पनि हँसिली, मिलनसार र भलादमी थिइन् ।
यसरी छिमेकी भएको नाताले युमी पनि यामादासँग हाँसेर बोल्ने र कहिलेकाहीँ मीठो-चोखो पाकेको बेला यामादालाई पनि दिने गर्थिन् । दुई वर्षपछि युमीले एउटा सुन्दर बालकलाई जन्म दिइन् । बालकको नाम सुजुकी केन्तो राखे ।
केन्तो एक वर्षको भएपछि एकदिन ‘आमाको मुख हेर्ने दिन’ आयो । सुजुकी परिवार एक वर्षको छोरा लिएर टोकियोबाट ४ सय किलोमिटर टाढा नागोयामा रहेका सुजुकीजीका आमाबुवालाई भेट्न जाने भए । भोलिपल्ट बिहानै ८ बजेतिर श्रीमान्, श्रीमती र सानो छोरा लिएर नागोयातिर हिँडे ।
नागोया जानका लागि टोकियोको सिन्जुकु स्टेसनबाट बस चढेर जानुपर्थ्यो । स्टेसन पुगेपछि युमीलाई अघिल्लो दिन सासू-ससुरालाई दिन भनी किनेर राखेको मिठाईको बट्टा घरमै बिर्सिइन् भन्ने कुरा याद आयो ।
अब के गर्ने ? श्रीमानले ‘म घर फर्किएर लिएर आउँछु, तिमी स्टेसनमै छोरासँग कुरेर बस’ भने । बस सिन्जुकु स्टेसनबाट छुट्न एक घण्टा बाँकी थियो र घरसम्म पुगेर फर्कन आधा घण्टा लाग्थ्यो । युमी छोरा लिएर स्टेसनमा नै कुरेर बसिन् ।
१५ मिनेट बित्यो, आधा घण्टा बित्यो, एक घण्टा बित्यो तर सुजुकी फर्केर आएनन् । बस छुट्ने बेला भयो तर सुजुकीको अत्तोपत्तो थिएन । युमी के गरूँ, कसो गरूँ भनी अलमलमा परिन् । अब घरमै गएर हेर्नुपर्यो भन्दै उनी हस्याङफस्याङ गर्दै घर फर्किइन् । काखमा सानो छोरा, दुइटा झोला र भारी मनका साथ उनलाई अत्यन्त सकस भयो ।
घर पुगेर ‘सातोरु सान’ भन्दै यताउति खोज्न थालिन् तर सुजुकी सातोरु कतै भेटिएनन् । युमीले रुँदै-रुँदै प्रहरीलाई खबर गरिन् । छानबिन भयो तर सुजुकी सातोरु कतै फेला परेनन् । युमीले सासू-ससुरालाई सबै घटनाको बेलिबिस्तार लगाउँदै खबर गरिन् र सासू-ससुरा पनि हतारिँदै टोकियो आइपुगे । धेरै मेहनत गरेर खोजियो तर सुजुकी कतै भेटिएनन् ।
बिस्तारै छोरा केन्तो पनि ठूलो हुँदै गयो र एक कक्षामा पढ्न थाल्यो । छिमेकी यामादाले पनि केन्तोलाई धेरै माया गर्थे । कहिलेकाहीँ पार्कमा लगेर खेलाइदिन्थे । मिठाई र खेलौना पनि किनेर दिन्थे । असल छिमेकी भएकाले दुवै पक्षलाई सजिलो भएको थियो ।
अब काम र सानो बच्चा हेरिदिने कोही छैनन् भनेर युमीका आमाबुवा पनि तोचिगीबाट टोकियो आएर सँगै बस्न थाले । युमी नजिकैको स्कुलमा पढाउँथिन् र छोराको स्याहार-सुसार गर्न थालिन् । एकदिन केन्तो स्कुलबाट आएर खेल्दै यामादाको घरमा गयो । यामादा पनि केन्तो आएपछि खुसी हुँदै मिठाई दिन्थे । उनीहरू सँगै टिभी पनि हेर्थे र कहिलेकाहीँ यामादाले गृहकार्य पनि सिकाइदिन्थे ।
एकदिन गृहकार्य गर्दागर्दै केन्तोलाई पिसाब आयो र उनी शौचालय गए । त्यहाँ ढोकाको तलतिरबाट केही आवाज आएजस्तो सुनियो । केन्तोले बिस्तारै कान थापेर त्यो आवाज सुन्यो । उनी अलि डराए पनि तर केही नभनी बैठक कोठामा आएर फेरि पढ्न थाले । घर फर्केपछि पनि केन्तोले त्यो कुरा आमालाई भन्न खोज्यो तर सकेन ।
दुई-चार दिनपछि केन्तो फेरि खेल्न र गृहकार्य गर्न यामादाको घरमा गएको थियो । यामादा पनि निकै खुसी हुँदै ‘तिमी पढ्दै गर, म चुरोट र मिठाई किनेर ल्याउँछु’ भन्दै बाहिर निस्किए । त्यही बेला ‘त्यो अस्ति सुनेको आवाज के हो, फेरि आउँछ कि आउँदैन’ भनेर सुन्नका लागि उनी शौचालय नजिकैको ढोकामा गए र कान थापेर सुने । तलको कोठाबाट “अँ… अँ…” गरेको जस्तो मसिनो स्वर सुनियो ।
केन्तो बिस्तारै भर्याङबाट तल ओर्लिए र आधा खुलेको ढोकाबाट च्याएर हेर्दै डराएर सोधे, ‘को हो ?’
त्यो मरणच्यासे, झुस्स दारी भएको मान्छेले बिस्तारै भन्यो, ‘केन्तो यहाँ आऊ, नडराऊ, म तिम्रो बुवा सुजुकी सातोरु हुँ । मलाई यो यामादाले १० वर्षदेखि यहाँ थुनेर राखेको छ । भाग्न खोजे वा कसैलाई भने तिमी, तिम्रो आमा र हजुरआमा-हजुरबुवा सबैलाई मारिदिन्छु भन्छ । तिमी बिस्तारै घर गई सबै कुरा आमालाई भन र पुलिसलाई खबर गरी मलाई यहाँबाट निकाल बाबु । तर होसियार, यो कुरा कुनै हालतमा यामादाले थाहा नपाओस्, नत्र यो पशुजस्तो मान्छेले हामी सबैलाई मार्छ ।’
केन्तो हतार-हतार माथि गएर गृहकार्य सकेको नाटक गरी घर फर्किए । राति सुत्ने बेलामा डराई-डराई आमालाई सोधे, ‘मम्मी, यामादा अंकलको घरमा अरू कोही मान्छे पनि छ र ?’
आमा युमी त्यो कुरा सुनेर छक्क परिन् । सुरुमा त पत्याइनन् तर पछि केन्तो डराउने, झस्किने, बारम्बार एउटै कुरा गरिरहने र राति एक्लै सुत्न पनि नमान्ने भएपछि युमीले आफैँ बुझ्ने विचार गरिन् ।
मध्यरातमा यामादाको तल्लो कोठाको झ्यालबाट मधुरो प्रकाश देखियो । युमीले ध्यान दिएर हेरिन्, मधुरो प्रकाशमा मान्छेको छायाजस्तो पनि देखियो । युमीलाई केन्तोले भनेको कुरा साँच्चै हो कि जस्तो लागेर आमाबुवासँग सल्लाह गरिन् । भोलिपल्ट यामादा बाहिर गएको मौका पारेर युमीका बुवाले पुलिसलाई खबर गरे र छिमेकीको घरमा छानबिन गरिदिन अनुरोध गरे ।
भोलिपल्ट बिहानै पुलिसले यामादाको घरमा रेकी गरेर छापा मार्यो । नभन्दै सुजुकी सातोरुलाई यामादाको घरमा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारियो । घटनाको छानबिन गरी यामादालाई अदालतमा उपस्थित गराइयो । यामादाले पनि आफ्नो अपराध स्वीकार गरे ।
यसरी १० वर्षअगाडि मिठाईको बट्टा घरमा बिर्सिएर लिन स्टेसनबाट घर फर्किएका सातोरु सुजुकीको अपहरणमा छिमेकी ‘गे’ यामादालाई पक्राउ गरी झ्यालखान चलान गरियो ।
गृष्मा पौड्याल
टोक्यो जापान
२०२६/0४/३०








