टोकियो – यस वर्षको ‘गोल्डेन विक’ (लामो सार्वजनिक बिदा) मा जापानको मौसममा बारम्बार उतारचढाव आउने देखिएको छ । मे २ तारिखमा केही क्षेत्रमा मौसममा सुधार आए तापनि मे ३ र ४ तारिखमा पुनः देशभर भारी वर्षा र तीव्र हावाहुरी चल्ने मौसम पूर्वानुमान विभागले जनाएको छ । विशेषगरी पश्चिम र मध्य जापानका केही भागमा ‘चेतावनी तह’को वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
शुक्रबार न्यून चापीय प्रणालीका कारण जापानका धेरैजसो भूभागमा वर्षा र हावाहुरीको प्रभाव देखिएको छ। इबाराकी प्रान्तको किताइबाराकी शहरमा प्रतिघण्टा ६०.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन मे महिनाका लागि हालसम्मकै उच्च हो। आज दिउँसो पनि उत्तर, मध्य र कान्तो क्षेत्रमा वायुमण्डलको अवस्था अस्थिर रहने भएकाले चट्याङ, हावाहुरी र असिना पर्न सक्ने जोखिम कायमै छ ।
शनिबार क्युशुदेखि कान्तोसम्मको मौसम सफा रहने र घुमघामका लागि उपयुक्त हुने देखिए पनि उत्तरी जापान (तोहोकु र होक्काइदो) मा भने तीव्र हावा चल्ने सम्भावना छ । हावाहुरीका कारण यातायातका साधनहरू प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।
आइतबार र सोमबारका दिन पुनः अर्को शक्तिशाली न्यून चापीय प्रणाली विकसित भई जापान सागरबाट अगाडि बढ्नेछ। यसको प्रभावले देशभर वर्षा र हावाहुरी चल्नेछ । आइतबार क्युशुदेखि होक्काइदोसम्मको जापान सागरतर्फका क्षेत्रमा पानी पर्नेछ भने सोमबार प्रशान्त महासागरीय तटीय क्षेत्रसहित देशभर वर्षा हुनेछ । क्युशु, शिकोकु र तोकाइ क्षेत्रमा चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ ।








