Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – पछिल्लो समय जापानमा बसोबास गर्ने नेपाली समुदायभित्र विभिन्न अप्रिय र संवेदनशील घटनाहरू बढ्न थालेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो सक्रियता तीव्र पारेको छ । समुदायमा देखिएका विविध समस्या र कानुनी जटिलताहरूलाई मध्यनजर गर्दै एनआरएनएले नेपालीहरूलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न विशेष अपील गरेको हो ।

जापानमा नेपालीहरूको संख्या वृद्धिसँगै सामाजिक, कानुनी र व्यवहारिक कठिनाइहरू पनि थपिँदै गएका छन् । एनआरएनए जापानका अनुसार, हालैका दिनहरूमा घटेका विभिन्न घटनाहरूमा संघले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अभिभावकीय भूमिका निर्वाह गरिरहेको छ । समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्ने, कानुनी परामर्शमा सहयोग पुर्‍याउने र पीडितलाई राहत प्रदान गर्ने कार्यमा संघले समन्वयकारी भूमिका खेलिरहेको छ ।

घटना घटिसकेपछि सहयोग गर्नुभन्दा घटना नै घट्न नदिनु उत्तम हुने मान्यताका साथ एनआरएनए जापानले अहिले ‘सचेतना’ लाई मुख्य एजेन्डा बनाएको छ। संघले विभिन्न संघसंस्था र सरोकारवाला निकायहरूसँगको सहकार्यमा अन्तरक्रिया र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ । यस्ता कार्यक्रमहरूले विशेषगरी नयाँ आएका विद्यार्थी र कामदारहरूलाई जापानी समाज, यहाँको संस्कृति र कानुनी प्रावधानबारे जानकारी गराउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

विदेशमा रहँदा आफ्ना अधिकारका लागि आवाज उठाउँदै गर्दा आफ्नो कर्तव्य र जिम्मेवारीलाई पनि बिर्सन नहुनेमा संघले जोड दिएको छ। जापान जस्तो अनुशासित र कानुनी रूपमा कडा देशमा यहाँको नियम उल्लंघन गर्दा व्यक्तिगत रूपमा मात्र नभई समग्र नेपाली समुदायको छविमा नै आँच आउने प्रति सचेत गराइएको छ । ‘सभ्य र जिम्मेवार समाज नै परदेशमा हाम्रो बलियो आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै एनआरएनए जापानले नेपालीहरूबीच आपसी सहयोग, सम्मान र समझदारीको खाँचो औंल्याएको छ । जापानको कानुनको पूर्ण पालना गर्नु नै यहाँ सुरक्षित र मर्यादित बसोबासको पहिलो शर्त भएको वक्तव्यमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया