Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

दिनभरिको कठोर श्रम, विदेशी भूमिमा संगालेको थकान र घरदेशको सम्झना । जापानमा रहेका औसत नेपालीको दैनिकी प्रायः यसैको सेरोफेरोमा घुम्छ । बेलुका कामबाट फर्किएपछि थकित शरीर बिसाउँदै गर्दा धेरैको हातमा मोबाइल र स्क्रिनमा टिकटक , फेसबुक वा युट्युब खुल्छ । तर, विडम्बना ! मनोरञ्जन र जानकारीका लागि खोलिएको सामाजिक सञ्जाल अचेल तनावको मुख्य स्रोत बन्न थालेको छ भन्दा अब अतिशयोक्ति नहोला ।

करिब पौने तीन लाखको हाराहारीमा रहेका जापानवासी नेपालीका लागि सामाजिक सञ्जाल अहिले केवल मनोरञ्जन र सूचना आदानप्रदानको सामान्य माध्यम मात्र रहेन, यो एउटा यस्तो ‘डिजिटल चौतारी’ बनेको छ जहाँ सत्यभन्दा बढी भ्रमको खेती भइरहेको छ । सूर्योदयको देशमा पसिना बगाइरहेका नेपालीहरूले दिनभरिको कठोर श्रमपछि जब थकित शरीर लिएर कोठामा फर्कन्छन्, उनीहरूको हातमा हुने स्मार्टफोनले राहत होइन, झन् ठूलो मानसिक बोझ र सन्त्रास पस्किरहेको छ । विशेष गरी जापानमा रहेका केही इन्फ्लुएन्सर र नव-कन्टेन्ट क्रियटरहरूको गैरजिम्मेवार व्यवहारले अहिले जापानको नेपाली समाजलाई एक प्रकारको ‘सूचनाजन्य अन्योल’तर्फ धकेलिरहेको छ ।

अचेल धेरै क्रियटरहरूको मुख्य ध्येय ‘भ्युज’ र ‘लाइक्स’ मार्फत डलर आर्जन गर्नु वा सस्तो लोकप्रियता कमाउनुमा मात्र केन्द्रित देखिन्छ । यसका लागि उनीहरूले अख्तियार गर्ने सबैभन्दा सजिलो तर घातक बाटो हो- त्रास फैलाउनु ! ‘जापान सरकारले अब विदेशीलाई लखेट्ने’, ‘ब्याचलर र बिजनेस भिसावालालाई तनाव’, ‘नयाँ नियमले विदेशीको होस उडायो’ जस्ता सनसनीपूर्ण र डरलाग्दो शीर्षक राखेर भिडियो सार्वजनिक गरिन्छ । निकै कठोर र मेसिन जस्तो चल्नुपर्ने जापानको दैनिकीमाथि यस्ता भ्रामक सामग्री तथा भिडियोको भार थपिँदा आम नेपालीको मानसिक शान्ति तत्कालै भंग हुने गरेको छ ।

मनोवैज्ञानिकहरूका अनुसार यस्तो निरन्तरको अनिश्चितता र डरले मानिसमा ‘क्रोनिक स्ट्रेस’ र ‘एन्जाइटी’ पैदा गर्छ । कतिपय नेपालीहरू त यस्ता हल्लाकै कारण अनिद्रा , नैराश्यता र कार्यक्षमतामा ह्रास जस्ता गम्भीर समस्याबाट ग्रसित हुन थालेका छन् । आफ्नो र परिवारको भविष्य जोडिएको भिसा जस्तो संवेदनशील विषयमा विना आधिकारिक पुष्टि गरिने यस्तो गैरजिम्मेवार प्रचारप्रसारलाई कुनै पनि अर्थमा ‘सिर्जना’ मान्न सकिँदैन; यो त सिधै सामूहिक मानसिक हिंसा हो ।

जापान एक विधि र कानुनद्वारा सञ्चालित मुलुक हो । यहाँ कुनै पनि अध्यागमन नियम वा श्रम नीति एकै रातमा र गोप्य रूपमा परिवर्तन हुँदैनन् । कुनै पनि नयाँ नीति लागू हुनुपूर्व यहाँका मन्त्रालयहरूले लामो अध्ययन गर्छन्, संसद्मा बहस हुन्छ, सार्वजनिक राय मागिन्छ र कार्यान्वयनका लागि सर्वसाधारणलाई पर्याप्त समय दिइन्छ । तर, हाम्रा कतिपय ‘डिजिटल पण्डित’हरूले जापानी समाचारका हेडलाइनलाई गुगल ट्रान्सलेटको भरमा बुझेर वा अधुरो ज्ञानका आधारमा आफ्नो मनगढन्ते व्याख्या थपेर भिडियो बनाउँछन् । जापानी समाजमा कतिपय विषयमा सामान्य छलफल मात्र सुरु भएको हुन्छ, तर नेपाली सामाजिक सञ्जालमा त्यसको ‘अन्त्येष्टि’ भइसकेको हुन्छ । उदाहरणका लागि, जापानले कहिलेकाहीँ विभिन्न भिसामा हुने विकृति रोक्न अनुगमन बढाउने कुरा गर्छ । यो एउटा स्वस्थ प्रशासनिक प्रक्रिया हो । तर, इन्फ्लुएन्सरहरूले यसलाई ‘अब विदेशी घर पठाउने भयो’ भन्दै अतिरञ्जित गरिदिन्छन्, जसले समुदायमा अनावश्यक आतंक सिर्जना गरिरहेको छ ।

कन्टेन्ट क्रिएसन आफैंमा एउटा कला र उत्तरदायित्व पनि हो । तर जापानका धेरै नेपाली क्रियटरहरूमा यो सामाजिक उत्तरदायित्वको पूर्ण अभाव देखिन्छ । पत्रकारिताको न्यूनतम मूल्य-मान्यता र मानवीय संवेदनालाई कुल्चिएर केवल ‘इन्गेजमेन्ट’ बढाउने होडबाजी चल्नु बौद्धिक दरिद्रताको पराकाष्ठा हो । सूचना दिने व्यक्तिले त्यसको स्रोतको विश्वसनीयता र त्यसले समाजमा पार्ने दीर्घकालीन प्रभावको बारेमा सोच्नुपर्छ । तर, यहाँ त ‘भाइरल’ हुनु नै सबैभन्दा ठूलो सफलता मानिएको छ, चाहे त्यो अरूको आँसु र पसिनामाथि नै किन नबुनिएको होस् ।

भ्रमको यो बाढीलाई रोक्न कानुनी कारबाही मात्र पर्याप्त हुँदैन, यसका लागि प्रयोगकर्ता वा सूचनाका उपभोक्ताहरू नै बढी सचेत हुनुपर्छ । डिजिटल साक्षरता आजको अनिवार्य आवश्यकता हो । हामीले के बुझ्न जरुरी छ भने :-

  • आधिकारिक स्रोत नै अन्तिम हो : जापानको अध्यागमन विभागको आधिकारिक वेबसाइट, नेपाली राजदूतावासको सूचना वा स्थापित जापानी सञ्चारमाध्यमबाहेकका अन्य अपुष्ट स्रोतबाट आउने ‘ब्रेकिङ न्युज’ लाई सधैं शंकाको घेरामा राख्नुपर्छ ।
  • प्रतिक्रिया दिनुअघि सोचौँ : कुनै पनि भिडियो वा पोस्ट देख्नेबित्तिकै त्यसलाई सेयर गर्ने वा आत्तिने गर्नुभन्दा पहिले त्यसको सत्यता बुझ्ने प्रयास गरौँ । सनसनीपूर्ण शीर्षकले प्रायः भ्रम मात्र बेच्छन् भन्ने बुझौँ ।
  • गैरजिम्मेवारलाई दण्डित गरौँ : भ्रम फैलाउने क्रियटरहरूलाई ‘अनफलो’ गर्ने, उनीहरूका सामग्रीमा ‘रिपोर्ट’ गर्ने र सामाजिक रूपमा बहिष्कार गर्ने संस्कृति विकास गर्नुपर्छ । जब उनीहरूले भ्युज पाउन छाड्छन्, तब ‘भ्रमको पसल’ आफैं बन्द हुनेछ ।
  • भाषा र ज्ञानमा लगानी गरौँ : हामी जति धेरै जापानी भाषा र यहाँको कानुनी प्रक्रियामा पोख्त हुन्छौँ, त्यति नै हामी यस्ता ‘डिजिटल बिचौलिया’ हरूको चंगुलबाट मुक्त हुनेछौँ ।

प्रवासको जीवन आफैंमा चुनौतीपूर्ण छ । यस्तो अवस्थामा एक नेपालीले अर्को नेपालीलाई आड-भरोसा र सही मार्गनिर्देशन दिनुको साटो उल्टै भ्रमको खेती गरेर त्रसित बनाउनु अत्यन्तै लज्जास्पद विषय हो । जापानका नेपाली कन्टेन्ट क्रियटरहरूले यो गम्भीरतालाई बुझ्न जरुरी छ कि उनीहरूको एउटा गलत भिडियोले कसैको सपना भत्काउन सक्छ वा कसैलाई गम्भीर मानसिक संकटमा धकेल्न सक्छ ।

सूचना शक्ति हो, तर मिथ्या सूचना विष हो । हामीले यो विषलाई आफ्नो मोबाइल स्क्रिनबाट मात्र होइन, आफ्नो समाजबाटै निर्मूल पार्नुपर्छ । जापानको कानुनी राज्यमा हल्लाको कुनै स्थान हुँदैन, त्यसैले आधिकारिक तथ्यमा विश्वास गरौँ र आफ्नो कर्ममा केन्द्रित रहौँ । सामाजिक सञ्जाललाई सिर्जना र एकताको सेतु बनाऔँ, डर र तनावको कारखाना होइन ।

तपाईको प्रतिक्रिया