टोकियो – जापानको सबैभन्दा ठूलो रेल सेवा प्रदायक कम्पनी ‘इस्ट जापान रेलवे’ (जेआर इस्ट) ले शनिबारदेखि आफ्नो भाडा दरमा औसत ७.१ प्रतिशतले वृद्धि गरेको छ । सन् १९८७ मा कम्पनी निजीकरण भएयता, उपभोग करमा भएको हेरफेर बाहेक, गरिएको यो पहिलो ठूलो भाडा वृद्धि हो ।
कम्पनीका अनुसार बढ्दो श्रम लागत र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण भाडा बढाउनु परेको हो । रेलका लिग (रेल्स) र ‘रेलरोड टाइज’ जस्ता सामग्रीको मूल्यमा भएको वृद्धिका कारण गत आर्थिक वर्षमा मात्रै मर्मत सम्भार खर्च ३०० अर्ब येन नाघेको छ, जुन १० वर्षअघिको तुलनामा २६ प्रतिशतले बढी हो । साथै, रात्रिकालीन समयमा लिग मर्मत गर्ने दक्ष कामदारको पारिश्रमिक बढेकाले पनि कम्पनीलाई आर्थिक भार थपिएको छ ।
पछिल्लो समय टोकियोका मुख्य रेल मार्गहरू (यामानोते र केहिन-तोहोकु लाइन) मा विद्युत् अवरोध र तार चुँडिने जस्ता समस्याका कारण घण्टौंसम्म सेवा अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको थियो । भाडा वृद्धिमार्फत संकलन हुने वार्षिक ८८ अर्ब येन अतिरिक्त आम्दानीलाई कम्पनीले यस्तै प्राविधिक समस्या समाधान, पूर्वाधार स्तरोन्नति र सुरक्षा उपायहरूमा लगानी गर्ने योजना बनाएको छ ।
भाडा वृद्धिको बचाउ गर्दै जेआर इस्टका अध्यक्ष एवं सीईओ किसे योइचीले भने, ‘सुरक्षित र उच्च गुणस्तरीय रेल सेवा आगामी पुस्तालाई हस्तान्तरण गर्न यो निर्णय अनिवार्य थियो । केवल खर्च कटौती गरेर मात्र बदलिँदो सामाजिक आवश्यकता र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सम्भव छैन ।’
कोभिड-१९ महामारीपछि यात्रु संख्या पुरानै लयमा फर्किए पनि आम्दानी स्थिर रहेकाले सेवालाई विश्वसनीय र विपद् प्रतिरोधी बनाउन यो कदम चालिएको कम्पनीको दाबी छ । धेरैजसो यात्रुले पनि सुरक्षा र गुणस्तर सुधार हुने अपेक्षामा यस वृद्धिलाई स्वभाविक रूपमा लिएको पाइएको छ ।








