समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली काँग्रेसका नेता सुनिल शर्मा ले चुनावमा पराजित भएपछि आफ्ना अस्पतालबाट दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरिएको भन्ने दाबी सामाजिक सञ्जालमा फैलिएको छ। तर उनले सो दाबी पूर्ण रूपमा गलत भएको बताएका छन्।
मंगलबार फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा शर्माले पछिल्ला दिनमा विभिन्न प्रकारका हल्ला र भ्रम फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफूले सञ्चालन गर्दै आएका नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज मार्फत विगतदेखि नै नागरिकलाई छुटसहित निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन्। उनका अनुसार आर्थिक रूपमा कमजोर नागरिकलाई प्राथमिकतामा राखेर यस्तो सेवा प्रदान हुँदै आएको छ। सम्बन्धित वडा र जिल्लामार्फत आवश्यक प्रक्रिया पूरा गरेर सेवाहरू उपलब्ध गराइँदै आएको पनि उनले स्पष्ट पारे।
शर्माले चुनावको परिणाम र सामाजिक सेवाबीच कुनै सम्बन्ध नरहने उल्लेख गरेका छन्। “चुनाव जित्नु वा हार्नु सामाजिक सेवा र सत्कर्मसँग जोडिँदैन,” उनले फेसबुक पोस्टमा लेखेका छन्। आगामी दिनमा पनि नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा निरन्तर प्रदान गरिने उनले बताएका छन्। साथै सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सूचनामा विश्वास नगर्न र आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन्।यसरी चुनावमा हारपछि अस्पतालको निःशुल्क सेवा बन्द गरिएको भन्ने दाबी सत्य नभएको स्पष्ट भएको छ।








